काठमाडौं । वीर अस्पतालमा आठ वर्षदेखि कार्यरत प्रमुख नर्सिङ प्रशासक संगीता श्रेष्ठको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा भएको छ ।
लामो समयदेखि एउटै संस्थामा कार्यरत नर्सिङ प्रशासकको सरुवा हुन नसकेको विषयमा विकासन्युजले समाचार प्रकाशित गरेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले श्रेष्ठको सरुवा गरेको हो ।
मन्त्रालय स्रोतका अनुसार श्रेष्ठको सरुवा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको छ ।
वीर अस्पतालमा लामो समयदेखि प्रमुख नर्सिङ प्रशासकको जिम्मेवारीमा रहेकी श्रेष्ठको सरुवासँगै अन्य लामो समयदेखि एउटै संस्थामा कार्यरत नर्सिङ प्रशासकको समेत सरुवा गर्ने तयारी मन्त्रालयले गरेको स्रोतले बताएको छ ।
विकासन्युजले असोज ७ गते वर्षौंदेखि एउटै अड्डामा नर्सिङ प्रशासक शीर्षकमा समाचार प्रकाशित गर्दै स्वास्थ्य सेवाका विभिन्न निकायमा लामो समयदेखि एउटै कार्यालयमा कार्यरत नर्सिङ प्रशासकको अवस्थाबारे समाचार प्रकाशन गरेको थियो ।
उक्त समाचारपछि मन्त्रालयले नर्सिङ प्रशासनमा लामो समयदेखि एउटै संस्थामा कार्यरत कर्मचारीको सरुवा व्यवस्थापन अघि बढाएको हो ।
मन्त्रालय स्रोतका अनुसार अन्य उच्च तहका नर्सिङ प्रशासकको सरुवा पनि गर्ने तयारी भइरहेको छ । तर बाँकी सरुवाको निर्णय तत्कालै हुन नसकेको स्रोतले जनाएको छ ।
कर्मचारी प्रशासन हेर्ने उपसचिव हाल बिदामा रहेकाले सरुवा प्रक्रिया केही प्रभावित भएको र सम्बन्धित अधिकारी कार्यालय फर्किएपछि बाँकी प्रक्रिया अघि बढाउने तयारी रहेको मन्त्रालय स्रोतको भनाइ छ ।
स्रोतका अनुसार अन्य नर्सिङ प्रशासकको सरुवा एक साताभित्र गर्ने तयारी भइरहेको छ । त्यसका लागि लामो समयदेखि एउटै कार्यालयमा रहेका कर्मचारीको विवरण र कार्यरत संस्थाका आधारमा सरुवा प्रक्रिया अघि बढाइनेछ ।
स्वास्थ्य सेवामा नियमित सरुवा प्रशासनिक व्यवस्थापनको महत्वपूर्ण पक्ष भए पनि केही नर्सिङ प्रशासक लामो समयसम्म एउटै संस्थामा कार्यरत रहेको विषयमा प्रश्न उठ्दै आएको थियो ।
विशेषगरी ठूला सरकारी अस्पतालमा नर्सिङ प्रशासनको नेतृत्व लामो समयसम्म एउटै व्यक्तिसँग रहँदा सरुवा व्यवस्थापन र जिम्मेवारीको पुनर्वितरणबारे चासो बढेको थियो ।
श्रेष्ठको सरुवा त्यसै क्रममा भएको पहिलो निर्णय भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
विकासन्युजले विषय उठाएपछि वीर अस्पतालकी प्रमुख नर्सिङ प्रशासक श्रेष्ठको सरुवा भएको छ भने अन्य लामो समयदेखि एउटै संस्थामा रहेका नर्सिङ प्रशासकको सरुवा प्रक्रिया पनि अघि बढाउने तयारीमा मन्त्रालय पुगेको हो ।