नेपाल वित्तीय संस्था संघको अध्यक्षमा रजोज मान श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजोज मान श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो। साधारण सभा असोज २ गते काठमाडौंमा सम्पन्न भएको थियो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा नेपाल फाइनान्स लिमिटेडका सीईओ उद्धवराज थपलिया र महासचिवमा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका सीईओ अनिल श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यमा गोर्खाज फाइनान्स लिमिटेडका सीईओ ज्ञानेन्द्र इवाहाङ र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडका सीईओ अनिल जोशी चयन भएका छन् ।

साधारण सभाले संघका विगतका गतिविधि र प्रगतिको समीक्षा गर्दै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको जनाएको छ ।

संघले निवर्तमान अध्यक्ष सुनिल पन्तले आफ्नो कार्यकालमा संघलाई संस्थागत रूपमा सुदृढ बनाउन पुर्याएको योगदानप्रति आभार व्यक्त गरेको छ । आगामी दिनमा उनले तत्कालीन निवर्तमान अध्यक्षका रूपमा नयाँ कार्यसमितिलाई आवश्यक मार्गदर्शन दिने संघले जनाएको छ ।

नवनिर्वाचित कार्यसमितिले वित्तीय संस्थाबीच समन्वय, सहकार्य र संस्थागत एकता थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ । साथै सदस्य संस्थाका साझा मुद्दा सम्बन्धित निकायसमक्ष प्रभावकारी रूपमा उठाउने र नेपाल राष्ट्र बैंक तथा सरकारसँग रचनात्मक सहकार्य गर्ने लक्ष्य लिएको संघले जनाएको छ ।

Share News