काठमाडौं । श्रम तथा रोजगार कार्यालयले दुई वटा कम्पनीको श्रम इजाजतपत्र (लाइसेन्स) खारेज गर्ने प्रक्रिया अघि बढाएको छ । कार्यालयले आई गार्ड सेक्युरिटी सर्भिस प्रालि र इनोभेटिभ हस्पिटालिटी प्रालिको श्रम इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाइएको जनाएको हो ।
कार्यालयले इजाजतपत्र खारेज गर्न निवेदन दिएका कम्पनीसँग कसैले ऋण लिएको वा ती कम्पनीले श्रमिक तथा अन्य सरोकारवालालाई तिर्नुपर्ने दायित्व वा बक्यौता बाँकी रहेको भए प्रमाणसहित ३५ दिनभित्र कार्यालयमा सम्पर्क गरी हकदाबी गर्न आग्रह गरेको छ ।
आई गार्ड सेक्युरिटीको इजाजतपत्र नम्बर (३क) १२५/०८१/८२ रहेको छ । कम्पनीले सुरक्षा सेवा तथा सहजकारी सेवा प्रदान गर्दै आएको थियो ।
त्यस्तै, इनोभेटिभ हस्पिटालिटी प्रालिको इजाजतपत्र नम्बर (३क) ७३/०७५/७६ रहेको छ । कम्पनीले सहजकारी सेवा तथा व्यावसायिक सहयोग सेवा प्रदान गर्दै आएको कार्यालयले जनाएको छ ।
कार्यालयले तोकिएको ३५ दिनभित्र प्रमाणसहित हकदाबी गर्न नआएमा प्रचलित प्रक्रियाअनुसार सम्बन्धित कम्पनीको इजाजतपत्र खारेज गरिने जनाएको छ ।