राष्ट्रिय योजना आयोगले माग्यो बाढी प्रभावितका घाइते, बेपत्ता र मृतकको विवरण

काठमाडौं । राष्ट्रिय योजना आयोगले रसुवागढी तथा भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित घाइते, बेपत्ता तथा मृतक व्यक्तिको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

आयोगले बाढीबाट भएको मानवीय, आर्थिक, सामाजिक तथा पूर्वाधारलगायतका क्षेत्रमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गरी वित्तीय आवश्यकता अनुमान र पुनर्निर्माण योजना तयार गर्न विपद्पछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदन तयार गर्ने काम अघि बढाएको जनाएको छ ।

आयोगका अनुसार बाढी प्रभावित क्षेत्रमा स्थानीय बासिन्दासँगै कामका लागि पुगेका मजदुर, तीर्थयात्री, पदयात्रामा गएका स्वदेशी तथा विदेशी नागरिक, पथप्रदर्शक, आयातित सामान लिन पुगेका सवारीचालक तथा सहयोगी र व्यापार–व्यवसायका क्रममा अस्थायी रूपमा बसोबास गरिरहेका व्यक्तिसमेत प्रभावित भएका छन् । तीमध्ये केही बेपत्ता तथा केहीको मृत्यु भएको विवरण सार्वजनिक भएको आयोगले जनाएको छ ।

प्रभावित व्यक्तिको यथार्थ विवरण, उनीहरूसँग सम्बन्धित व्यवसाय तथा क्षति भएका व्यक्तिगत र व्यावसायिक सम्पत्तिको विवरण सङ्कलन गरी क्षति तथा आवश्यकता पहिचान गर्न आयोगले छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

रसुवा, भोटेकोशी लगायतका बाढी प्रभावित क्षेत्रमा घाइते, बेपत्ता वा मृत्यु भएका व्यक्तिको हकमा उनीहरू अन्य जिल्ला वा स्थानका बासिन्दा भए पनि सम्बन्धित परिवार, आफन्त वा कानुनी हकवालाले सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडा सचिव वा तोकिएको कर्मचारीमार्फत पोर्टलमा विवरण भर्न सक्ने आयोगले जनाएको छ ।

आयोगले २०८३ असोज १५ गतेभित्र सम्भव भएसम्म पूर्ण र यथार्थ विवरण उपलब्ध गराउन आग्रह गरेको छ । साथै, स्थानीय तहलाई आफ्नो क्षेत्रका सम्भावित प्रभावित परिवार तथा आफन्तजनलाई यसबारे जानकारी गराई विवरण भर्न आवश्यक सूचना, सहजीकरण तथा समन्वय गर्न अनुरोध गरिएको छ ।

Share News