आज इन्द्रजात्रा पर्व मनाइँदै, कुमारी, गणेश र भैरवको रथयात्रा मुख्य आकर्षण

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा-आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित मनाउने गरिन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकास्थित दरबार क्षेत्रअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो (यःसिँ) ठड्याएपछि इन्द्रजात्रा सुरु हुन्छ । आठ दिनसम्म मनाइने जात्रामा विभिन्न प्रकारका नाचगान, रथयात्रा तथा देवीदेवताको पूजा-आराधना गरिन्छ ।

शनिबार बिहान ६ बजेर ५७ मिनेटसम्म द्वादशी तिथि रहेकाले सोही दिन इन्द्रध्वजोत्थानको साइत निकालिएको र आइतबार बिहान सूर्योदय चतुर्दशी तिथिमा हुने भएकाले यस दिन इन्द्रजात्रा मनाउने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष तथा धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोको फेदमा भैरवको पूजा गर्ने परम्परा छ । शत्रुमाथि विजय प्राप्त गरेपछि विजय उत्सवका रूपमा इन्द्रजात्रा मनाउने गरिएको धार्मिक मान्यता छ । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर त्यसको प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

इन्द्रजात्राको मुख्य दिन आज हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपतिले जीवित देवीका रूपमा मानिने कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गर्ने परम्परा छ ।

जात्राका क्रममा भक्कुनाच, महाकाली नाच, लाखे नाच, दशावतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच प्रदर्शन गरिन्छ । यी नाच तथा सांस्कृतिक गतिविधिले इन्द्रजात्राको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई झल्काउने गर्छन् ।

भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ अर्थात् भगवान् विष्णुको समेत पूजा-आराधना गर्ने गरिन्छ । त्यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुने धार्मिक विश्वास रहेको छ ।

Share News