सिमकार्ड र बैंक खाता प्रयोग गरी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । विभिन्न व्यक्तिलाई रकम दिने प्रलोभनमा पारी सिमकार्ड र बैंक खाता खोल्न लगाएर ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका–९ का ३५ वर्षीय सागर साह र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ का २८ वर्षीय आनन्द आचार्य छन् ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न व्यक्तिलाई पैसा दिने प्रलोभनमा पारी एनसेललगायत दूरसञ्चार कम्पनीका सिमकार्ड किन्न लगाउने गरेका थिए ।

त्यस्तै, विभिन्न बैंकमा ई–बैंकिङ र एटीएमसहितको खाता खोल्न लगाएर सिमकार्ड, चेकबुक, एटीएम कार्ड तथा ई–बैंकिङको ओटीपी र पिन नम्बर आफ्नो नियन्त्रणमा लिने गरेको प्रहरीले जनाएको छ ।

उक्त सिमकार्ड र बैंक खातामार्फत हुन्डी, अनलाइन गेम तथा अनलाइन ठगीबाट आएको रकमको कारोबार गर्ने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई असोज ७ गते पक्राउ गरेको हो । उनीहरूको साथबाट २ थान ल्यापटप, २२ थान सिमकार्ड, ३ थान मोबाइल र २ थान एटीएम कार्ड बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा पाटन उच्च अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले बैंक खाता, एटीएम र सिमकार्ड उपलब्ध गराएबापत ५० हजार रुपैयाँसम्म दिने प्रलोभन देखाउने गरेको खुलेको छ ।

उनीहरूले एउटै व्यक्तिलाई विभिन्न बैंकमा २१ वटासम्म खाता खोल्न लगाएको र विभिन्न व्यक्तिबाट २६० भन्दा बढी बैंक खाता खोल्न लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

खाता खोल्न लगाएका व्यक्तिहरूको सिमकार्ड, मोबाइल बैंकिङ र एटीएमसमेत उनीहरूले आफ्नो नियन्त्रणमा लिने गरेको पाइएको छ ।

तर, खाता, एटीएम र सिमकार्ड उपलब्ध गराएबापत दिने भनिएको रकम नदिएपछि शंका लागेर पीडितहरू प्रहरीकहाँ पुगेर उजुरी दिएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share News