ज्याला पाउने लोभमा विमानस्थलबाट १०४ ग्राम सुनसहित दुई नेपाली पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०४. २५ ग्राम सुनसहित दुई जना नेपाली पक्राउ परेका छन् । बुधबार ३१ वर्षीय अनिल राय र ३३ वर्षीय अनिस अन्सारी पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार राय कतारबाट नेपाल एयरलाइन्सको जहाजबाट स्वदेश फर्केका थिए । सुनका गरगहना अवैध रूपमा नेपाल भित्र्याउने तथा संकलन गरी लैजाने कार्यमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका हुन्।

रायले अन्य व्यक्तिको आग्रहमा ज्यालाको प्रलोभनमा परेर सुनका सिक्री भन्सार छलेर नेपाल ल्याएका थिए । विमानस्थलबाट बाहिर जान लाग्दा उनलाई नियन्त्रणमा लिइएको सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालले जानकारी दिए ।

यसैगरी, अन्सारी अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको पार्किङ क्षेत्रमा बाह्य मुलुकबाट आएका यात्रुले भन्सार छलेर ल्याएको ७९.५९ ग्राम सुनसहित पक्राउ परेका हुन् । उनलाई प्रहरीले सुनका गरगहना संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई गरगहनासहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले उल्लेख गरेको छ ।

Share News