बाढीपीडितका लागि उबरको ५० लाख सहयोग, ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उबरले ‘राइड फर नेपाल’ अभियान सुरु गरेको छ ।

सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानमार्फत उबरले आफ्नो यात्रासेवालाई राष्ट्रिय विपद् राहत प्रयाससँग जोडेको हो । अभियानमा यात्रु र चालक दुवैलाई सहभागी हुन आह्वान गरिएको छ ।

अभियानअन्तर्गत उबरले बाढी प्रभावित समुदायको सहयोगका लागि नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उक्त रकम आपतकालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापनाका काममा प्रयोग गरिने जनाइएको छ ।

त्यस्तै, अभियान अवधिभर उबरको प्लेटफर्ममार्फत सम्पन्न हुने हरेक उबर बाइक यात्राबापत १० रुपैयाँ र हरेक उबर कार यात्राबापत २० रुपैयाँ उबरले आफ्नै तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ ।

यसरी अभियान अवधिमा जति धेरै यात्रा सम्पन्न हुन्छन्, बाढी प्रभावित समुदायका लागि उबरको तर्फबाट हुने सहयोग पनि त्यति नै बढ्दै जानेछ ।

अभियानमा सहभागी हुँदा यात्रुले तिर्ने भाडा र चालकले प्राप्त गर्ने आम्दानीमा भने कुनै परिवर्तन नहुने उबरले जनाएको छ । यात्रुले साविककै भाडा तिर्ने र चालकले पनि नियमित रूपमा प्राप्त गर्ने रकम नै पाउनेछन् । प्रत्येक योग्य सम्पन्न यात्राबापतको रकम उबरले अतिरिक्त रूपमा राहत कोषमा उपलब्ध गराउनेछ ।

नेपालका लागि उबरका रणनीतिक साझेदारका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले विपद्का बेला यात्रु र चालकको सक्रिय सहभागिता महत्वपूर्ण हुने बताए ।

उनले ‘राइड फर नेपाल’ अभियान विपद्का बेला सबैलाई एकजुट भएर सहयोग गर्ने अवसर भएको बताउँदै हरेक यात्रालाई बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणसँग जोड्ने उद्देश्य रहेको उल्लेख गरे।

उबरकी नेपाल तथा दक्षिण एसियासम्बन्धी एक वरिष्ठ अधिकारीले पनि नेपालको राहत तथा पुनर्स्थापनाका लागि सामूहिक सहयोग आवश्यक रहेको बताइन् । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आफ्नो प्लेटफर्म र स्रोतमार्फत बाढी प्रभावित समुदायलाई सहयोग गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

उबरले सबै यात्रु तथा चालकलाई अभियानमा सहभागी भएर बाढी प्रभावित समुदायको राहत तथा पुनर्निर्माणमा सहयोग गर्न आग्रह गरेको छ ।

Share News