बाढीपीडित अटो व्यवसायीलाई राहत दिन नाडाको सरकारसँग माग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रसुवामा आएको भीषण बाढीका कारण अटोमोबाइल क्षेत्रमा परेको क्षति, राहत तथा भन्सार सहजीकरणका विषयमा भन्सार विभागसँग छलफल गरेको छ ।

असोज ७ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक यमलाल भुसालसँग भेट गरी बाढीपछिको अवस्थाबारे विस्तृत छलफल गरेको हो ।

भेटका क्रममा अध्यक्ष उप्रेतीले भदौ १० गते रसुवा, टिमुरेलगायत क्षेत्रमा आएको बाढीका कारण चीनबाट आयात गरिएका सयौं सवारीसाधनमध्ये ठूलो संख्यामा सवारी रसुवा नाकाबाट बगाएको जानकारी गराउँदै प्रभावित आयातकर्ताले पाउनुपर्ने राहत र सहुलियतको व्यवस्था छिटो कार्यान्वयन गर्न आग्रह गरे ।

छलफलमा नाडाका महासचिव मिलनबाबु मल्लले चीनतर्फको सीमा भन्सार सञ्चालनमा नआउँदा ५०० भन्दा बढी सवारीसाधन सीमा क्षेत्रमा रोकिएको बताए । उनले ती सवारी नेपाल भित्र्याउने प्रक्रिया सहज बनाउन विभागसँग अनुरोध गरेका छन् ।

उनले ११ सिटे विद्युतीय माइक्रोबसको भन्सार छुटाउने प्रक्रिया पनि अझै टुंगिन नसकेको उल्लेख गर्दै त्यसका लागि आवश्यक पहल गरिदिन आग्रह गरे ।

जवाफमा महानिर्देशक भुसालले रसुवा बाढीबाट प्रभावित अटो व्यवसायीलाई सरकारले दिने राहत र सहुलियतको मोडालिटी तयार गर्ने विषयमा अर्थ मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय र गृह मन्त्रालयबीच गृहकार्य भइरहेको जानकारी दिएका छन् ।

भेटघाटमा नाडाका उपाध्यक्ष अभिक ज्योति र विक्रम सिंघानिया तथा सचिव मेघराज पौडेललगायतको पनि उपस्थिति रहेको थियो ।

Share News