पदबहाली गर्दै कार्यकारी निर्देशकले भने– जाडोयाममा लोडसेडिङ हुन दिन्नौं

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले जाडोयाममा लोडसेडिङ हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

बुधवार (आज) दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले हिउँदयाममा विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक उर्जाको खोजि भइरहेको समेत बताए ।
 
श्रेष्ठले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त परियोजनाहरूलाई राष्ट्रिय प्रणालीमा जोड्ने कार्य सुरु भइसकेको समेत जानकारी दिए ।

बाढीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनःनिमाणका लागि तत्कालीन र दीर्घकालिन रणनीति निर्माणमा जुट्ने समेत बताए । 

उनले सुनकोशी–३ जलविद्युत आयोजनाको विस्तृत डिजाइन तथा इन्जिनियरिङ अध्ययनका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरिएको पनि बताए । 

उनका अनुसार बाढीका कारण चिलिमे हबमा हाल सञ्चालनमा रहेको १ सय ३५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा बाट बाहिर गएको छ । 

श्रेष्ठले बुधवार बिहान मात्र पद तथा गोपनीयताको शपथ लिएका थिए । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधवार बिहान मन्त्रालयमा कार्यकारी निर्देशक श्रेष्ठलाई शपथ ग्रहण गराएका हुन् । 

असोज २ मा बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई कार्यकारी प्रमुखमा नियुक्त गरेको थियो। 

Share News