काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानविपरीत केन्द्रीय कमिटी बैठक सञ्चालन गरेको भन्दै नेता कृष्णगोपाल श्रेष्ठले बैठक बहिष्कार गरेका छन् ।
सोमबार (आज) ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव शंकर पोखरेललाई बैठक सञ्चालन गर्न नदिएर अध्यक्ष ओली आफैले बैठक अघि बढाएपछि श्रेष्ठले आपत्ति जनाएका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार श्रेष्ठले ओलीको कदमको विरोध गर्दै करिब एक घण्टा उभिएर असहमति जनाएका थिए ।
उनले अध्यक्ष ओलीलाई पार्टी विधानअनुसार बैठक सञ्चालन गर्न आग्रह गर्दै विधान पढ्न समेत भनेका थिए ।
त्यसक्रममा ओली र श्रेष्ठबीच भनाभनसमेत भएको ती नेताले बताए । असहमति जनाएका श्रेष्ठ केही समयपछि बैठकस्थलबाट बाहिरिएका थिए ।
बैठकमा ओलीले आफै बैठक सुरु गर्नुका साथै सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि उनले बैठकका एजेन्डा प्रस्तुत गर्दै प्रतिवेदनसमेत पेश गरेका थिए ।
महासचिवले बैठक सञ्चालन गर्ने पार्टीको अभ्यासविपरीत अध्यक्ष आफैले बैठक अघि बढाएको भन्दै श्रेष्ठले आपत्ति जनाएको एक नेताले जानकारी दिए ।