काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अन्ततः गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले बेहोरेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।
तर, पराजयकै कारण आफू राजनीतिक मैदानबाट पछि नहट्ने समेत उनले स्पष्ट पारेका छन् ।
सोमबारदेखि ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले निर्वाचन परिणामको जिम्मेवारी पार्टी अध्यक्षका रूपमा आफूले लिने बताएका हुन् ।
‘पार्टीको पुन:निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ शीर्षकको प्रतिवेदनमा ओलीले निर्वाचनमा पार्टीले बेहोरेको पराजयलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्ने बताएका छन् ।
उनले निर्वाचन परिणामको जिम्मेवारीबाट नेतृत्व पन्छिन नमिल्ने उल्लेख गर्दै आफूले त्यसको नैतिक जिम्मेवारी लिने बताएका छन् ।
तर, जिम्मेवारी लिनु नेतृत्वबाट अलग हुने विषय नभएको उनको संकेत छ ।
ओलीले पार्टी पुनःनिर्माण र संगठनलाई थप सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन् । निर्वाचनको परिणामबाट निराश भएर राजनीतिक मैदान छाडेर नभाग्ने उनको भनाइ छ ।
एमालेले निर्वाचनमा अपेक्षाविपरीत कमजोर परिणाम बेहोरेपछि पार्टीभित्र नेतृत्व, संगठन र चुनावी रणनीतिमाथि समीक्षा सुरु भएको छ ।
यही पृष्ठभूमिमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा निर्वाचन परिणामको समीक्षा, पार्टी पुनर्निर्माण र आगामी राजनीतिक कार्यदिशाबारे छलफल हुँदैछ ।
‘पार्टीको पुन:निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’