बस आगजनी भएको विषयमा छानबिन समिति गठन,  आजैदेखि काम थालनी

काठमाडौं  । त्रिपुरेश्वरमा बस आगजनी भएको विषयलाई लिएर प्रहरीले छानबिन गर्न समिति गठन गरेको छ । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसएसपी रमेस बस्नेतको संयोजकमा छानबिन समिति गठन गरिएको हो ।

कार्यालयका प्रवक्ता गोविन्द थपलियाले काठमाडौंमा रहेका प्रहरी मातहतका कर्मचारीको संलग्नतामा समिति गठन गरिएको बताए । 

उनका अनुसार काठमाडौं प्रहरी परिसर, ट्राफिक कार्यालय, काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रतिनिधिसहित समिति बनाइएको छ ।

‘समितिले आजदेखि काम थालिसकेको छ,’ उनले भने, ‘चाँडो भन्दा चाँडोभन्दा समितिले काम गरेर सकाउनेछ ।’

समितिले अब बसमा आगजनी किन र कसरी भयो भन्ने विषयमा अध्ययन गर्ने उनले जानकारी दिए ।

अध्ययनपश्चात समितिले प्रतिवेदन बुझाउने थपलियाले बताए ।

सोमबार  त्रिपुरेश्वरमा एक सार्वजनिक बसमा आगजनी हुँदा चालक घाइते भएका थिए ।   बा ५ ख ४२७४ नम्बरको ऋद्धिसिद्धि बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका हुन् ।

हाल उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । 

उक्त बस मुलपानी–थानकोटको रुटमा चल्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।  

सामाजिक सञ्जालमा चालक र ट्राफिक प्रहरीको विवाद भएको भिडियो अहिले भाइरल भइरहेको छ ।

किर्तिपुरस्थिति बर्न अस्पतालका चिकित्सक शंकरमान राईले चालक लामाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताए । ' शरीरको ९० प्रतिशत  भाग गहिरो भएर जलेको छ,’ उनले भने,’ उहाँको अवस्था चिन्ताजनक छ ।'

Share News