काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाले आगामी महाधिवेशनको तयारी अघि बढाउने प्रक्रिया सुरु गर्न लागे पनि उक्त महाधिवेशन कतिऔँ हुने भन्ने विषयमा पार्टीभित्रै अन्योल देखिएको छ । विभिन्न कम्युनिस्ट घटकबीचको एकताबाट बनेको पार्टी भएकाले महाधिवेशनको क्रमसंख्या नै टुंगो नलागेको हो ।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाका अनुसार आगामी महाधिवेशनले नै आफू कतिऔँ महाधिवेशन हो भन्ने निर्णय गर्नेछ । उनले आगामी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा लिइएकाले यसको क्रमसंख्या निर्धारण गर्ने अधिकार पनि महाधिवेशनको हललाई नै दिइने बताए ।
‘यो एकता महाधिवेशन हो । त्यसैले आफू कतिऔँ महाधिवेशन हो भनेर महाधिवेशनको हलले नै निर्णय गर्छ,’ ज्वालाले भने ।
महाधिवेशनको क्रमसंख्याबारे टुंगो नलागे पनि नेकपाले भने अधिवेशन र महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । त्यसका लागि पार्टी संयोजक पुष्पकमल दाहालले मंगलबार केन्द्रीय संयोजन समिति बैठक बोलाएका छन् ।
बैठक मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा अधिवेशन तथा महाधिवेशनको कार्यतालिकाबारे महत्वपूर्ण निर्णय हुने प्रवक्ता ज्वालाले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टीको आन्तरिक संगठनात्मक अवस्था, राष्ट्रियताको विषय तथा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ । अधिवेशन र महाधिवेशनको कार्यतालिका तय भएपछि पार्टीको तल्लो तहदेखि केन्द्रीय तहसम्मको संगठनात्मक प्रक्रिया अघि बढाउने तयारी छ ।
‘अधिवेशन, महाधिवेशनको कार्यतालिकाको विषयमा महत्वपूर्ण निर्णय हुन्छ । पार्टीको आन्तरिक संगठनात्मक सवाल, राष्ट्रियताको सवालमा छलफल हुन्छ,’ ज्वालाले भने ।
बैठकमा भोटेकोशी बाढीपछिको अवस्थाबारे पनि समीक्षा हुने भएको छ । बाढी प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरिरहेको खोजी तथा उद्धार, राहत वितरण र पुनःस्थापनाको कामबारे पार्टीले समीक्षा गर्ने ज्वालाले बताए ।
‘भोटेकोशी बाढीमा सरकारले गरिरहेको खोजी, उद्धार, राहत वितरण तथा पुनःस्थापनाको कामको विषयमा पनि समीक्षा हुन्छ,’ उनले भने ।
नेकपाले आगामी महाधिवेशनमार्फत पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित गर्दै राजनीतिक गतिविधिलाई नयाँ दिशामा अघि बढाउने तयारी गरिरहेको छ । त्यसका लागि पहिले विभिन्न तहका अधिवेशन सम्पन्न गर्ने र त्यसपछि महाधिवेशनमा जाने कार्यतालिका बनाउने तयारी छ ।
तर, महाधिवेशनको प्रक्रिया अघि बढ्दै गर्दा त्यसलाई विगतका महाधिवेशनको निरन्तरता मान्ने वा एकतापछि नयाँ प्रक्रियाका रूपमा गणना गर्ने भन्ने प्रश्न भने अझै खुला छ । प्रवक्ता ज्वालाका अनुसार त्यसको अन्तिम निर्णय महाधिवेशनको हलबाटै हुनेछ ।
यसकारण नेकपाको आगामी महाधिवेशनको मिति र कार्यतालिकासँगै त्यसको राजनीतिक तथा संगठनात्मक हैसियतसमेत महाधिवेशनले नै निर्धारण गर्ने ज्वालाले जानकारी दिए ।