नेपाल आउने पर्यटकलाई दूरसञ्चार सेवा सहज बनाउन एनसेल–नाटोबीच साझेदारी

काठमाडौं । नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज बनाउने उद्देश्यले एनसेल र नेपाल एसोसिएसन अफ ट्राभल अपरेटर्स (नाटो)बीच साझेदारी भएको छ ।

बिहीबार (हिजो) नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ता र नाटोका अध्यक्ष विश्वेश श्रेष्ठले सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे ।

साझेदारीले विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई यात्राभर परिवार, साथीभाइ तथा अन्य व्यक्तिसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग गर्ने लक्ष्य राखेको एनसेलले जनाएको छ ।

कम्पनीका अनुसार नेपालका विभिन्न स्थानमा यात्रा गर्दा आवश्यक पर्ने सञ्चार सेवामा पर्यटकको पहुँच थप सहज बनाउने अपेक्षा गरिएको छ ।

सम्झौताअनुसार एनसेलले पर्यटकलाई भरपर्दो मोबाइल कनेक्टिभिटी उपलब्ध गराउने एनसेलले जनाएको छ । नाटोले भने देशभर फैलिएको आफ्ना ट्राभल अपरेटरहरूको सञ्जालमार्फत पर्यटकलाई एनसेलका सेवा तथा सुविधाबारे जानकारी उपलब्ध गराउनेछ ।

कार्यक्रममा एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर दत्ताले देशभर फैलिएको एनसेलको नेटवर्क र पर्यटन क्षेत्रमा नाटोको पहुँचलाई उपयोग गर्दै गरिएको सहकार्यले नेपाल आउने पर्यटकको यात्रा अनुभवलाई थप सहज र अविस्मरणीय बनाउने विश्वास व्यक्त गरे ।

नाटोका अध्यक्ष श्रेष्ठले पर्यटनको मूल मर्म नै मानिस, संस्कृति र अनुभवलाई एकअर्कासँग जोड्नु रहेको बताए । नेपाल आउने हरेक यात्रुलाई यात्राभर सम्पर्कमा रहन सहयोग गर्ने एनसेलसँगको सहकार्य अर्थपूर्ण रहेको उनको भनाइ थियो ।

दूरसञ्चार सेवामा सहकार्यसँगै एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत एनसेल फाउन्डेसनमार्फत प्रमुख राजमार्गहरूमा आधुनिक वाश (सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छता) पूर्वाधार स्थापना गर्न नाटोलाई सहयोग गर्ने भएको छ ।

यसको सुरुवात धादिङको गजुरीबाट पाइलट परियोजनाका रूपमा गरिनेछ । उक्त पहलले प्रमुख राजमार्ग हुँदै यात्रा गर्ने पर्यटक तथा स्थानीय समुदायको सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी आवश्यकतालाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

एनसेल र नाटोको यो सहकार्यले नेपालमा दिगो तथा जिम्मेवार पर्यटन विकासप्रतिको दुवै संस्थाको साझा प्रतिबद्धतालाई समेत प्रतिबिम्बित गर्ने जनाइएको छ ।

Share News