काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका ३३ जना विजेताको नतिजा सार्वजनिक भएको छ ।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटमा आयोजित कार्यक्रममा भदौ महिनामा घोषणा हुन बाँकी सबै विजेताको नतिजा एकैपटक सार्वजनिक गरिएको हो ।
विभागका अनुसार ३१ जना नियमित विजेताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, २ जना बम्पर विजेताले जनही १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
भदौ १ देखि १५ गतेसम्मको कारोबारका आधारमा १५ जना नियमित र एक जना बम्पर विजेता छनोट भएका छन् । यस्तै, भदौ १६ देखि ३१ गतेसम्मको कारोबारका आधारमा थप १६ जना नियमित र एक जना बम्पर विजेता छनोट गरिएको विभागले जनाएको छ ।
यसअघि रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भदौ १६ गतेका लागि तय गरिएको उपहार विजेता छनोट तथा घोषणा कार्यक्रम स्थगित भएको थियो । सोही कारण भदौ महिनाका बाँकी सबै विजेताको नतिजा असोज १ गते सार्वजनिक गरिएको हो ।
विजेताले आफ्नो कुपन नम्बरका आधारमा नतिजा जाँच गर्न सक्नेछन् । आफ्नो मोबाइल बैंकिङ वा डिजिटल वालेटमा प्राप्त कुपन नम्बर हेरेर विभागले उपलब्ध गराएको सम्बन्धित माध्यममार्फत नतिजा जाँच गर्न सकिनेछ ।
आन्तरिक राजस्व विभागले करदातालाई करसम्बन्धी दायित्व नियमित रूपमा पूरा गर्न प्रोत्साहित गर्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
कार्यक्रमअन्तर्गत प्रत्येक महिनाको १ गते र १६ गते उपहार विजेता छनोट तथा घोषणा गर्ने व्यवस्था छ । तर विपद्का कारण भदौ १६ गतेको कार्यक्रम स्थगित भएपछि त्यस दिन घोषणा हुनुपर्ने नतिजासमेत असोज १ गतेको कार्यक्रममा समेटिएको विभागले जनाएको छ ।