काठमाडौं । काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक सुझाव एप’ औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । अब काठमाडौं उपत्यकाभित्रका नागरिकले संघीय सडकअन्तर्गतका बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव एपमार्फत दर्ता गर्न सक्नेछन् ।
एपमार्फत दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था समेत नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ । गुनासो सम्बोधन भएपछि त्यसको जानकारीसमेत एपमार्फत प्राप्त हुने सडक डिभिजन काठमाडौंले जनाएको छ ।
हाल ‘सडक सुझाव एप’मार्फत काठमाडौं उपत्यकाभित्र संघीय सडकअन्तर्गत रहेका करिब ४ सय ७२ किलोमिटर सडक सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ । संघीय सडकअन्तर्गत नपर्ने सडकका सम्बन्धमा भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारीसमेत नागरिकलाई उपलब्ध गराइने सडक डिभिजन काठमाडौंले जनाएको छ ।
सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै एपलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारीसमेत अघि बढाइएको छ । आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई एपमा समावेश गरी सेवा विस्तार गर्ने र क्रमशः देशभर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।