करदाता उपहार असोज १ मा घोषणा हुँदै, दुई जनाले १०–१० लाख जित्ने

काठमाडौं । रसुवाको भोटेकोशी बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम अब असोज १ गते घोषणा हुने भएको छ । आन्तरिक राजस्व विभागले भदौ महिनाका ३३ जना विजेताको नाम एकै दिन सार्वजनिक गर्ने तयारी गरेको छ ।

सरकारले करदातालाई सक्कली बिल लिन र अनलाइन भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले चालु आर्थिक वर्षदेखि करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको हो । भदौ १६ गते घोषणा हुने भनिएको पुरस्कार विपद्का कारण स्थगित गरिएको थियो ।

विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार असोज १ गते भदौ महिनाभरका विजेता छनोट गरी पुरस्कार घोषणा गरिनेछ । 

भदौ १ देखि १५ गतेसम्म सक्कली बिल लिएर विभागको पोर्टलमा दर्ता गराएका वा अनलाइनमार्फत खरिद गरेका उपभोक्तामध्ये हरेक दिनका एक जनाका दरले १५ जनालाई १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार दिइनेछ । यही अवधिका सहभागीमध्ये एक जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्नेछन् ।

त्यस्तै, भदौ १६ देखि ३१ गतेसम्मको अवधिका लागि १६ जनालाई १ लाख ३३ हजार ३३४ रुपैयाँ र एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिने विभागले जनाएको छ ।

यसरी भदौ महिनाका ३१ जना दैनिक विजेता र दुई जना बम्पर विजेता गरी कुल ३३ जनाले पुरस्कार पाउनेछन् । 

पुरस्कारमा सहभागी हुन के गर्नुपर्छ ?

पुरस्कारका लागि योग्य हुन कम्तीमा १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्ने विभागले जनाएको छ । अनलाइन भुक्तानीबाट गरिएको कारोबार स्वतः करदाता प्रोत्साहन प्रणालीमा समावेश हुन्छ ।

नगदमा खरिद गर्ने उपभोक्ताले भने सक्कली बिल आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पोर्टलमा अपलोड गरी उपहार कुपन लिनुपर्ने व्यवस्था छ ।

भदौ १ देखि १५ गतेसम्मको बिल सोही अवधिभित्र दर्ता गर्नुपर्नेछ भने भदौ १६ देखि ३१ गतेसम्मका बिल भदौ मसान्त राति १२ बजेसम्म पोर्टलमा दर्ता गरिसक्नुपर्ने विभागले जनाएको छ ।  

पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ । त्यसअनुसार १ लाख ३३ हजार ३३४ रुपैयाँका विजेताले कर कटाएर १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने १० लाख रुपैयाँका बम्पर विजेताले ७ लाख ५० हजार रुपैयाँ हात पार्नेछन् ।

यसअघि साउन महिनामा पनि ३३ जना करदाताले प्रोत्साहन उपहार जितेका थिए। त्यसबेला विजेता छनोट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए ।

Share News