बाढी प्रभावित क्षेत्रमा एनसेलद्वारा स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट सेवा सुरु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण सडक पूर्वाधार र सञ्चार सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि एनसेलले प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत आपत्कालीन सञ्चार सेवा उपलब्ध गराउन थालेको छ । 

उद्धार, राहत तथा पुनस्र्थापनामा खटिएका सरकारी निकायहरूसँगको समन्वयमा एनसेलले युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटमा आधारित उपकरणहरू जडान गरी निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । 

हालसम्म सञ्चार सञ्जाल बिच्छेद भएको नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा यो प्रविधि जडान भइसकेको छ भने अन्य प्रभावित क्षेत्रहरूमा पनि जोड्ने काम तीव्र पारिएको छ । 

जमिनमा राखिएका विशेष उपकरणले स्याटलाइटबाट प्राप्त गरी स्थानीय क्षेत्रमा वाईफाईमार्फत उच्च गतिको इन्टरनेट सेवा पुर्याउँछन् । 

साधारण टेलिफोन वा मोबाइल नेटवर्क नभएको अवस्थामा पनि यो प्रविधिमार्फत प्रभावित समुदाय, अस्थायी शिविर, होल्डिङ सेन्टर र राहत वितरण केन्द्रमा रहेका मानिसहरूले सन्देश आदानप्रदान, इन्टरनेट कल र राहत समन्वयको काम गर्न सक्नेछन् । 

एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणलगायतका निकायबाट आवश्यक स्वीकृति लिएर यो सेवा सुरु गरिएको हो । 

विपद्को पहिलो दिनदेखि नै एनसेलले बाढी प्रभावित ३ लाखभन्दा बढी ग्राहकलाई दैनिक निःशुल्क भ्वाइस, डाटा र एसएमएस सुविधा दिँदै आएको छ ।

साथै, एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १ करोड आर्थिक सहयोग समेत हस्तान्तरण गरिसकिएको छ । 

विपद्को समयमा कनेक्टिभिटी सुविधा मात्र नभई लाइफलाइन हुने भएकाले संकटको घडीमा नागरिकलाई सम्पर्कमा राख्न एनसेल प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

Share News