काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले देशमा सुशासन कायम गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । जेनजी शहीद दिवसका अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले युवा पुस्ता (जेनजी) लाई आश्वस्त पार्दै सुशासन कायम हुने स्पष्ट पारेका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ ।’ गत वर्ष भदौ २३ गते सुशासन र भ्रष्टाचारविरुद्ध युवाहरूले आयोजना गरेको जेनजी आन्दोलनको स्मरणमा यो दिवस मनाइएको हो ।
सोही आन्दोलनको जगमा भएको राजनीतिक परिवर्तन र त्यसपछिको आम निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदको सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको थियो ।
जेनजी शहीद दिवसका अवसरमा सरकारले मंगलबार देशभर सार्वजनिक बिदासमेत दिएको थियो ।
सोही क्रममा प्रधानमन्त्री शाहले आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।