काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका ९ वटा रुखातामा ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ ।
डलरलाई १५०.८८ का दरले रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यो तथ्यांक मंगलबार (आज) साढे ५ बजेसम्मको हो ।
रसुवा–भोटेकोशी बाढीपछिको कुल सङ्कलन ७ अर्ब ६८ करोड ४४ लाख र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर पुगेको छ, जुन विपद्अघिको २ अर्ब ८ करोड २४ लाख मौज्दातबाहेकको रकम हो ।
भदौ २३ गते एकै दिन ३० करोड ६२ लाख र १ लाख १२ हजार ३२ अमेरिकी डलर प्राप्त भएको छ । राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब हस्तान्तरण गरिएको छ ।
प्रभावित परिवारप्रति निरन्तर सहयोग गर्ने स्वदेश तथा विदेशका सम्पूर्ण व्यक्ति र संस्थाप्रति मन्त्रालयले आभारसमेत व्यक्त गरेको छ ।

