काठमाडौं । जेनजी आन्दोलनका सहिद परिवारको संस्था जेनजी सहिद परिवार कल्याणकारी समाजले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनलाई सम्मानपत्र र खादा ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसहित विभिन्न व्यक्तिको सहभागिता थियो । समाजले जेनजी आन्दोलनपछि सहिद परिवारका लागि शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै गोल्याणलाई सम्मान गरेको जनाएको छ ।
गोल्याण ग्रुपले आफ्नो सामाजिक संस्था गोल्याण फाउण्डेशन मार्फत सहिदका सन्तानलाई कक्षा १२ सम्मको शैक्षिकवृत्ति र सहिदका बुवाआमालाई आजीवन स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । आन्दोलन भएको एक महिनापछि, २०८२ असोज २४ गते फाउण्डेशनले यो कार्यक्रम सुरु गरेको थियो ।
फाउण्डेशनका अनुसार हाल २२ सहिदका ३१ जना बालबालिका शैक्षिकवृत्तिमा अध्ययन गरिरहेका छन् । यस्तै, २२ सहिदका ४३ जना बुवाआमालाई वार्षिक १० लाख रुपैयाँसम्मको आजीवन स्वास्थ्य बीमा उपलब्ध गराइएको छ । यी कार्यक्रमका लागि फाउण्डेशनले हरेक वर्ष करिब २ करोड ५० लाख रुपैयाँ खर्च गर्दै आएको जनाएको छ ।
सम्मान ग्रहणपछि अक्षय गोल्याणले सहिद परिवारसँग गरिएको प्रतिबद्धता कुनै एक वर्षका लागि नभई सधैंका लागि भएको बताए । सहिदका सन्तानको शिक्षा र अभिभावकको स्वास्थ्य सुरक्षालाई निरन्तर साथ दिने उनले प्रतिबद्धता जनाए ।
उनले सहिदहरूले देखेको सुरक्षित, शान्त र न्यायपूर्ण नेपाल निर्माण गर्नु अब सबै नेपालीको जिम्मेवारी भएको उल्लेख गर्दै भने, 'सहिदहरूले आफ्नो कर्तव्य पूरा गर्नुभयो, अब हाम्रो पालो हो ।'
गोल्याण फाउण्डेशनले शैक्षिकवृत्ति पाएका विद्यार्थीको विद्यालय शुल्क, छात्रावास, खाना, यातायात, पुस्तक, पोशाक र अतिरिक्त क्रियाकलापलगायत सबै शैक्षिक खर्च व्यहोर्दै आएको जनाएको छ । साथै, शैक्षिकवृत्तिमा नसमेटिएका सहिद परिवारका बुवाआमालाई स्वास्थ्य बीमामार्फत उपचारमा सहयोग गरिरहेको पनि फाउण्डेशनले जानकारी दिएको छ ।