काठमाडौं । औषधि व्यवस्था विभागले नोभा जेनेटिका प्रालि खानिखोला–७, नुवाकोटद्वारा उत्पादित ‘आईपोड–२०० डीटी’ (सेफपोडोक्सिम प्रोक्सेटिल डिस्पर्सिबल ट्याब्लेट) औषधिको एक ब्याच बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
विभागले जारी गरेको सूचनाअनुसार ब्याच नम्बर आईपीडी२–१३३, उत्पादन मिति नोभेम्बर २०२५ र म्याद समाप्त हुने मिति अप्रिल २०२७ रहेको उक्त औषधि गुणस्तर परीक्षणका क्रममा मापदण्डअनुरूप नभएको पाइएको हो ।
राष्ट्रिय औषधि प्रयोगशालाबाट गरिएको परीक्षणमा उक्त औषधिले घुलनशीलता (डिसोलुसन) सम्बन्धी मापदण्ड पूरा नगरेको विभागले जनाएको छ । परीक्षण प्रतिवेदनमा ‘घुलनशीलताका सम्बन्धमा औषधि नमुना मापदण्डअनुसार छैन’ भन्ने उल्लेख गरिएको छ । उक्त औषधिमा सेफपोडोक्सिम प्रोक्सेटिल यूएसपी, सेफपोडोक्सिम २०० मिलिग्राम बराबरको मात्रा रहेको छ । यो लेप नलगाइएको घुलनशील ट्याब्लेटका रूपमा उत्पादन गरिएको हो ।
विभागले सम्बन्धित उद्योग तथा औषधि व्यवसायीलाई उक्त ब्याचको औषधिको बिक्री–वितरण रोक्न तथा बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ । साथै, फिर्ता गरिएको औषधिको विवरण विभागमा उपलब्ध गराउनसमेत भनिएको छ ।