काठमाडौं । हृदय तथा रक्तनलीसम्बन्धी रोग र पक्षघातको रोकथाम, व्यवस्थापन तथा पुनःस्थापनामा फिजियोथेरापी र शारीरिक गतिविधिको भूमिका भन्ने नाराका साथ मंगलबार (आज) विश्व फिजियोथेरापी दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
स्वास्थ्य तथा शारीरिक गतिशीलतामा फिजियोथेरापिस्टले पुर्याउने महत्त्वपूर्ण योगदानबारे जनचेतना फैलाउने उद्देश्यले सन् १९९६ देखि हरेक वर्ष सेप्टेम्बर ८ मा यो दिवस मनाउने गरिएको छ। नेपालमा भने सन् २००० देखि यो दिवस मनाउन सुरु गरिएको हो ।
विश्वका विभिन्न देशहरूमा लामो समयदेखि प्रचलनमा रहेको यो चिकित्सा पद्धति नेपालमा सन् १९८० को दशकमा सैनिक अस्पताल, कुष्ठरोग निवारक उपचार पद्धति तथा भारतबाट तालिम प्राप्त स्वास्थ्यकर्मीमार्फत भित्रिएको पाइन्छ ।
त्यसयता केही दशक अगाडि मात्र निजी अस्पतालहरूले यसको औपचारिक सुरुआत गरेका थिए । पछिल्लो समय सेवाग्राही र प्रदायक दुवैको संख्या बढ्दै गएको छ भने नेपालमै यसको अध्ययन९अध्यापनसमेत हुन थालेपछि विद्यार्थीहरूको आकर्षणसमेत बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।
विशेषगरी हाडजोर्नी तथा नसासम्बन्धी रोगका लागि प्रभावकारी मानिने फिजियोथेरापी न्युरोलोजिकल डिसअर्डर (स्नायुसम्बन्धी विकार) र अटिजम भएका बालबालिकाहरूमा समेत निकै उपयोगी साबित भएको छ ।
यसका साथै युवा, महिला तथा वृद्धावस्थामा देखिने ढाड र कम्मर दुख्ने लगायतका समस्याहरूमा समेत यो पद्धति अत्यन्त प्रभावकारी बनेको छ ।