काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेका गुल्मीका सात जना आज १३ औँ दिनसम्म पनि सम्पर्कविहीन छन् । बाढीमा परेका गुल्मीका यादव भण्डारीको भने मृत्यु पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय गुल्मीको विवरणअनुसार रसुवा बाढीपछि रुरुक्षेत्र गाउँपालिका–५ की अनिता पुरी, रुरुक्षेत्र–६ का यमबहादुर दर्लामी, मालिका–७ का दिनेश घिमिरे, छत्रकोट–४ का गणेश ज्ञवाली, सत्यवती–८ का धनबहादुर गलामी, रुरुक्षेत्र–३ का कपिलमणि ज्ञवाली र कालीगण्डकी–१ का शिव न्यौपाने अझै सम्पर्कमा आएका छैनन् ।
सम्पर्कविहीनमध्ये पुरी रसुवा भन्सार कार्यालयमा नायब सुब्बाका रूपमा कार्यरत थिइन् । यमबहादुर दर्लामी रसुवा हाइड्रोपावरमा प्राविधिकका रूपमा कार्यरत थिए भने दिनेश घिमिरे पनि रसुवा भन्सारमा कार्यरत थिए ।
ज्ञवाली जलविद्युत् आयोजनामा र धनबहादुर गलामी आयोजनाकै सुरक्षागार्डका रूपमा कार्यरत रहेको प्रजिअ गैह्रेले जानकारी दिए । गैह्रेका अनुसार कपिलमणि ज्ञवाली जलविद्युत् आयोजनासँग सम्बन्धित काममा र शिव न्यौपाने पनि रसुवामै कार्यरत रहेका थिए ।
बाढी आएको लामो समय बितिसक्दा पनि उनीहरूबारे कुनै ठोस जानकारी नआएपछि परिवारजन चिन्तित रहेको पुरीको परिवारलाई भेट्न पुगेका नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । ज्ञवालीका अनुसार परिवारले आफन्त जीवितै उद्धार हुने आशा अझै नछाडेको बताएका छन् ।
खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीको सत्यवती गाउँपालिका–६, जुहाङ घर भएका यादव भण्डारीको भने बाढीमा परी मृत्यु पुष्टि भएको छ । रसुवागढीस्थित अध्यागमन कार्यालयमा अधिकृतका रूपमा कार्यरत भण्डारी बाढीपछि सम्पर्कविहीन भएका थिए । उनको शव फेला परी पहिचानसमेत भइसकेको विवरण आधिकारिक विपद् अभिलेखमा उल्लेख छ ।