काठमाडौं । काठमाडौंको दक्षिण भेगस्थित कीर्तिपुरको आदिनाथ मन्दिरमा एक महिने मेला सञ्चालन हुने भएको छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म लाग्ने मेला यस वर्ष कात्तिक ९ गतेदेखि सुरु हुनेछ ।
मेलाको तयारीस्वरूप कीर्तिपुर नगरपालिका–६ स्थित मन्दिर परिसरमा सरसफाइ तथा व्यवस्थापनका काम सुरु गरिएको छ । मेला व्यवस्थापन समितिको आयोजना र स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको हो ।
मेलालाई लक्षित गरी मन्दिरलाई सिँगारेर आकर्षक बनाइएको छ । मन्दिरमा शिव र पार्वतीको संयुक्त स्वरूप झल्काउने मूर्ति रहेकाले यसलाई आदिनाथ तथा अर्धनारीश्वरका रूपमा समेत चिनिन्छ ।
परिवारमा सुख, समृद्धि प्राप्त हुनुका साथै भय, रोग र विघ्नबाट मुक्ति मिल्ने विश्वासका साथ भक्तजनहरू मेलामा सहभागी हुने गर्छन् । यस वर्ष मेलामा करिब दुई लाख भक्तजन आउने अनुमान गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।
हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा सांस्कृतिक आस्थाको केन्द्रका रूपमा रहेको आदिनाथ मन्दिरमा हिन्दुहरूले शिवशक्तिको प्रतीकका रूपमा पूजा गर्छन् भने बौद्ध अनुयायीहरूले लोकेश्वर तथा करुणाका प्रतीकका रूपमा पूजाआजा गर्ने परम्परा छ ।