म्याग्दी । म्याग्दीको पश्चिमी भेगका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक एक हप्तापछि सञ्चालनमा आएको छ ।
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असोज ३१ गतेदेखि सुक्खा पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएको थियो । पूर्वाधार विकास कार्यालय म्याग्दीले मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि आजदेखि यातायात सञ्चालनमा आएको हो ।
पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्स्ट्रक्सनका प्रतिनिधि राजु पाण्डेका अनुसार दसैँमा यात्रुको आवतजावतलाई सहज बनाउन सडक खुलाउने प्रयास गरिए पनि पहिरो खस्ने क्रम नरोकिएकाले ढिलाइ भएको हो ।
उनले दसैँको चहलपहललाई ध्यानमा राखेर तत्कालका लागि सडक खुलाइएको बताए । उनका अनुसार सडकको दिगो समाधानका लागि भने अझै काम गर्न बाँकी छ । दसैँको चहलपहल सकिएपछि पहिरो नियन्त्रण तथा सडकलाई भरपर्दो र जोखिमरहित बनाउने काम अघि बढाइनेछ ।
कुल २४ किलोमिटर लामो बेनी–दरवाङ सडक म्याग्दीको पश्चिमी क्षेत्रका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग हो । यस सडकलाई पश्चिम म्याग्दीको ‘लाइफलाइन’ का रूपमा लिइन्छ ।
लगातारको पहिरोका कारण सडक बन्द हुँदा दसैँ मनाउन जन्मथलो जाने र पर्वपछि कार्यक्षेत्रमा फर्कने यात्रुलाई समस्या भएको थियो । तत्कालका लागि सडक सञ्चालनमा आएपछि यात्रुको आवतजावत सहज हुने अपेक्षा गरिएको छ ।