काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले सर्वसाधारणका लागि इन्धनको बिक्री मूल्य नबढाउने निर्णय गरेको छ ।
भोटेकोसी नदीमा आएको असाधारण बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले इन्धनको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको हो ।
आईओसीबाट भदौ १५ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ३४ पैसा, डिजेलमा ४ रुपैयाँ ३३ पैसा, मट्टितेलमा १० रुपैयाँ १९ पैसा र हवाई इन्धनमा ४ रुपैयाँ ९६ पैसा वृद्धि भएर आएको थियो । यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ३५ रुपैयाँ ६२ पैसा बढेर आएको निगमले जनाएको छ ।
यद्यपि, बाढीपहिरोका कारण नागरिकले भोग्नुपरेको असहज परिस्थितिलाई मध्यनजर गर्दै निगमले भदौ १७ गते बिहान १२ः०१ बजेदेखि लागू हुने गरी साविककै खुद्रा बिक्री मूल्य कायम राखेको छ ।
पोखरा र भैरहवाका लागि भने अन्तर्राष्ट्रिय हवाई इन्धन ‘ब्रेकइभेन पोइन्ट’मा बिक्री गरिने निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै बिक्री मूल्य नबढाउँदा निगमलाई आगामी १५ दिनमा करिब १ अर्ब २४ करोड ५७ लाख रुपैयाँ घाटा हुने जनाएको छ ।