बाढीपीडितका लागि सिटी एक्सप्रेसको १ करोड ११ लाख सहयोग, रेमिट्यान्स शुल्क पनि मिनाहा

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत र पुनर्स्थापना कार्यका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।

ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा बाढीका कारण प्रभावित नागरिकको सहयोगका लागि उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ ।

सिटी एक्सप्रेस ग्रुपका अनुसार प्राकृतिक विपद्का कारण ती जिल्लामा ठूलो मानवीय र भौतिक क्षति भएको छ । प्रभावित समुदायको राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको हो ।

यसैबीच, कम्पनीले बाढी प्रभावित परिवारलाई विदेशबाट सहज रूपमा आर्थिक सहयोग पुग्ने व्यवस्था गर्न विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गरेको जनाएको छ । बाढी आएको दिनदेखि नै यो निर्णय लागू गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले विनाशकारी बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

साथै, उद्धार, राहत र पुनर्स्थापना कार्यमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय र सम्बन्धित निकायप्रति कृतज्ञता पनि व्यक्त गरेको  छ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले विगत २० वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आएको छ । कम्पनीले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै सेवा विस्तार गर्दै आएको जनाएको छ ।

Share News