काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि राजधानी बाहिरै ग्यास भर्ने व्यवस्था गरिएको छ । ग्यास बोकेका बुलेट कृष्णभीरको सडक हुँदै काठमाडौं आउन नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले राजधानी बाहिर रहेका उद्योगसँग समन्वय गरी ग्यास भरेर काठमाडौं ल्याउने भएका हुन् ।
एक ग्यास उद्योगीका अनुसार नेपाल आयल निगमले पनि उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ । उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा ग्यास उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी पूर्वका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन् । उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशतभन्दा बढी ग्यास आवश्यक पर्ने उनको भनाइ छ ।
कृष्णभीरको सडक सञ्चालनमा नआएसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याइने उनले बताए । बाहिरका उद्योगमा भरिएका ग्यास त्रिभुवन राजपथलगायतका वैकल्पिक सडकबाट काठमाडौं ल्याइने उनको भनाइ छ ।
राजधानी बाहिर रहेका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा ग्यासको अभाव नहुने उनले दाबी गरे ।