काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
नाइमाका सदस्य कम्पनीहरूले विपद्को सुरुवातदेखि नै आर्थिक, यातायात तथा लजिस्टिक सहयोगलगायत विभिन्न माध्यमबाट उद्धार तथा राहत कार्यमा योगदान दिँदै आएका छन् ।
संस्थाले सदस्य कम्पनीहरूको यस सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि प्रभावित नागरिकको सहयोगमा निरन्तर सक्रिय रहन आग्रह गरेको छ ।
नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले विपद्को कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको साझा दायित्व भएको बताइन् ।
उनले सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्रै राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै सहयोगका लागि तत्पर सदस्य कम्पनीहरूप्रति धन्यवाद व्यक्त गरिन् ।
नाइमाले खोज, उद्धार तथा राहतमा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, उद्धारकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा विभिन्न संघ–संस्थाप्रति सम्मान व्यक्त गरेको छ ।
साथै अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालालाई आफ्नो क्षमता र उपलब्ध स्रोतअनुसार बाढी प्रभावितको सहयोगमा हातेमालो गर्न आह्वान पनि गरेको छ ।