काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौं उपत्यकासहित कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको छ ।
काठमाडौंमा नागढुंगा-मुग्लिन सडकखण्ड बाढीको सम्भावित जोखिमका कारण पूर्णरूपमा बन्द गरिएको छ । कोशी प्रदेशअन्तर्गत इलाममा पहिरोका कारण मेची राजमार्गको इलाम–झापा जोड्ने सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशमा पनि बाढीपहिरोका कारण विभिन्न सडकखण्ड प्रभावित भएका छन् । काभ्रेमा बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुञ्जेबेसी सडकखण्डमा बाढीको जोखिमलाई मध्यनजर गर्दै निश्चित समयका लागि सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
मकवानपुरमा हेटौंडा-भीमफेदी-बागमती-ललितपुर सडकखण्ड तथा कान्तिलोकपथ क्षेत्रमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । नुवाकोटमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै शिवपुरी गाउँपालिका-८ स्थित घट्टेखोलामा पर्ने टोखा-छहरे सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका-५, खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण लामो समयदेखि पूर्णरूपमा अवरुद्ध छ । रसुवाका अन्य मुख्य राजमार्गसमेत अर्को सूचना जारी नभएसम्मका लागि पूर्णरूपमा बन्द गरिएको छ ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित ज्वाङखोलालगायतका क्षेत्रमा पृथ्वी राजमार्ग प्रभावित भएको छ । चितवनमा मुग्लिन–नारायणगढ सडकखण्डसमेत बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ स्थित जाजरकोट–डोल्पा सडकखण्ड पनि बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको छ ।
प्रहरीले लगातारको वर्षाका कारण सडकमा जुनसुकै बेला पहिरो तथा बाढी आउन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । साथै, जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन तथा आवश्यकताअनुसार यात्रा स्थगित गर्न समेत प्रहरीले अनुरोध गरेको छ ।
