नेपाल टेलिकमको नयाँ सुविधा : हजारौँ नम्बरमा एकैपटक भ्वाइस म्यासेज पठाउन मिल्ने

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई रेकर्ड गरिएको भ्वाइस म्यासेज पठाउन सकिने ‘आउटबाउन्ड आईभिएर’ सेवा व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको छ ।

कम्पनीले केही समयदेखि आन्तरिक परीक्षणका रूपमा सञ्चालन गर्दै आएको यो सेवालाई अब व्यावसायिक रूपमा ग्राहकका लागि उपलब्ध गराएको जनाएको छ ।

नेपाल टेलिकमका अनुसार यस सेवामार्फत अधिकतम एक मिनेटसम्मको रेकर्ड गरिएको सूचनामूलक वा प्रवर्द्धनात्मक भ्वाइस सन्देश एकैपटक ठूलो संख्यामा पठाउन सकिनेछ ।  

टेलिकमका अनुसार आउटबाउन्ड आईभिएर सामूहिक सूचना प्रवाहका लागि उपयोगी सेवा हो । विभिन्न संघ–संस्था, व्यवसाय, शैक्षिक संस्था वा सेवा प्रदायकले सूचना, परीक्षाको नतिजा, कार्यक्रमको जानकारी वा प्रचार–प्रसारसम्बन्धी सन्देश हजारौँ व्यक्तिसम्म एकैपटक पुर्याउन सक्नेछन् ।  

यो सेवा लिन इच्छुक कार्यालय, संस्था वा व्यवसायीले फोन गर्नुपर्ने नम्बरहरूको सूची र पठाउनुपर्ने भ्वाइस फाइल नेपाल टेलिकममा उपलब्ध गराई तोकिएको प्रक्रिया पूरा गर्नुपर्नेछ ।

यस सेवामार्फत कल जाँदा प्राप्तकर्ताको मोबाइल वा टेलिफोनमा सन्देश पठाउने संस्था वा सेवा प्रदायकको नाममा दर्ता भएको नम्बर नै कलर आईडी का रूपमा देखिने नेपाल टेलिकमले जनाएको छ ।

हालका लागि सेवा लिन इच्छुक ग्राहकले दूरसञ्चार कार्यालय, सुन्धारा पुगेर तोकिएको फाराम भरी सेवा लिन सक्नेछन् ।

नेपाल टेलिकमले स्वचालित रूपमा ठूलो संख्यामा कलमार्फत सूचना पठाउने सेवाको माग आगामी दिनमा बढ्दै जाने अपेक्षा गरेको छ ।

Share News