राष्ट्रिय बीमा कम्पनीका सीईओ श्रेष्ठको राजीनामा स्वीकृत, निमित्त सीईओमा कोइराला

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवहरि श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

कम्पनीको सञ्चालक समितिको सञ्चालित ५२७ औँ बैठकले डा. श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो । सञ्चालक समितिको सोही बैठक (निर्णय नं. १३२३) ले राजीनामा स्वीकृत गरेसँगै नयाँ व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुवास कोइरालालाई दिएको छ ।

कम्पनीको निर्णय नं. १३२४ अनुसार नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत कोइरालालाई निमित्त सीईओको जिम्मेवारी सुम्पिएकाे कम्पनी सचिव कविता लामाद्वारा जारी सूचनामा उल्लेख छ ।

को हुन् निमित्त सीईओ सुवास कोइराला

सुबास कोइरालाले सन् २०१० जुनदेखि राष्ट्रिय बीमा संस्थानबाट बीमा क्षेत्रमा आफ्नो व्यावसायिक करियर सुरु गरेका हुन् । उनले सन् २०१८ सम्म राष्ट्रिय बीमा संस्थानमा कार्य गरे ।

त्यसपछि उनले सन् २०१८ अप्रिलदेखि राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा आफ्नो व्यावसायिक यात्रा निरन्तरता दिए । दाबी व्यवस्थापन, मानव संसाधन व्यवस्थापन तथा बैंकिङ उनको मुख्य दक्षताको क्षेत्र हो ।

आफ्नो ज्ञान र व्यावहारिक अनुभवलाई थप विस्तार गर्ने क्रममा उनले प्रतिष्ठित बीमा तथा वित्तीय संस्थाहरूमा समेत काम गर्ने अवसर प्राप्त गरेका छन् । उनले बीमा क्षेत्रसँग सम्बन्धित विभिन्न सेमिनार तथा सम्मेलनहरूमा पनि सहभागिता जनाएका छन् ।   

Share News