होटलमा ग्यास मौज्दातबारे चेम्बरको आपत्ति, ‘व्यवसायीलाई बदनाम नगरौं’

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले होटलमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात रहेको भन्दै गरिएका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजनमा पाँचतारे होटलमा गरिएको अनुगमनका क्रममा ग्यासको मौज्दात बढी रहेको पाइएको भन्दै सार्वजनिक गरिएको टिप्पणीप्रति चेम्बरले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । 

चेम्बरले यस्तो विषयलाई होटल तथा पर्यटन व्यवसायको प्रतिष्ठामा असर पर्ने गरी प्रस्तुत नगर्न आग्रहसमेत गरेको छ ।

चेम्बरका अनुसार नेपालमा पर्यटन तथा आतिथ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र पर्यटन उद्योगका लागि सकारात्मक विषय होइन ।

पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटा ग्यास सिलिन्डरसम्म खपत हुनु स्वाभाविक रहेको उल्लेख गर्दै चेम्बरले कुनै होटलमा करिब २०० हाराहारी सिलिन्डर मौज्दात रहनुलाई पनि व्यावसायिक प्रयोजनका लागि आवश्यक मौज्दातका रूपमा बुझ्नुपर्ने जनाएको छ । 

आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई अस्वाभाविक वा गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उपयुक्त नहुने चेम्बरको भनाइ छ । 

नेपाल चेम्बर अफ कमर्सले कृत्रिम अभाव, अवैध कारोबार वा कानुनविपरीतका कुनै पनि गतिविधिको समर्थन नगर्ने स्पष्टसमेत पारेको छ 

होटल तथा पर्यटन व्यवसाय वा अन्य उद्योग–व्यवसायसँग सम्बन्धित कुनै आपूर्ति, नियमन वा समस्या देखिए सम्बन्धित निकायले व्यवसायी तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग आवश्यक संवाद र समन्वय गरी समाधान खोज्नुपर्ने चेम्बरको धारणा छ ।

Share News