काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५० वटा दुईपांग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले खोजतलास गरी फेला पारेका ३० वटा मोटरसाइकल र २० वटा स्कुटर बिहीबार सम्बन्धित धनीलाई बुझाएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले ती सवारीसाधन धनीलाई हस्तान्तरण गरेका हुन् ।
प्रहरीका अनुसार कार्यालयमा प्राप्त निवेदन तथा अन्य माध्यमबाट प्राप्त सूचनाका आधारमा खोजी गर्ने क्रममा ती सवारीसाधन फेला परेका हुन् । केही सवारीसाधनमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखिएको अवस्थामा भेटिएका थिए ।
नेपालटार, थानकोट, बलम्बु, सातदोबाटो, नरेफाट, मुलपानी, सिंहदरबार, काँडाघारी, नयाँबसपार्क, टोखा, जोरपाटी, बौद्ध, कपन र गोकर्णलगायतका स्थानबाट चोरी भएका सवारीसाधन फेला पारिएको प्रहरीले जनाएको छ ।
बिहीबार हस्तान्तरण गरिएका ५० वटासहित साउन महिनामा मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ८२ वटा चोरी भएका सवारीसाधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।
त्यस्तै, चोरीका सात वटा दुईपांग्रे सवारीसाधनसहित चोरीमा संलग्न १४ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको प्रहरीले जनाएको छ ।
सवारीसाधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन् ।
सवारीसाधन चोरी तथा हराउनबाट रोक्न सुरक्षित स्थानमा पार्किङ गर्न प्रहरीले आग्रह गरेको छ । ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न पनि प्रहरीले अनुरोध गरेको छ । साथै, मानिसको आवतजावत नहुने एकान्त स्थानमा सवारीसाधन पार्किङ नगर्न र जिपिएस जडान गर्नसमेत आग्रह गरिएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न आग्रह गरेका छन् । नजिकको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिनसमेत सकिने उनले बताएका छन् ।