काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले बनस्थली (खरिबोट) शाखालाई गोंगबु (सामाखुशी) शाखामा समायोजन गर्ने भएको छ ।
कम्पनीले प्रविधिको विकाससँगै विद्युतीय भुक्तानी कारोबार उल्लेख्य रूपमा बढ्दै गएको तथा शाखामा प्रत्यक्ष उपस्थित भएर कारोबार गर्ने ग्राहकको संख्या घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै शाखा समायोजन गर्न लागिएको जनाएको छ । नेपाल राष्ट्र बैंकले महानगरपालिका क्षेत्रमा सञ्चालित बैंक तथा वित्तीय संस्थाका शाखा आवश्यकताअनुसार समायोजन वा एकीकरण गर्न सक्ने व्यवस्था गरेपछि सोहीअनुसार निर्णय गरिएको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीका अनुसार बनस्थली (खरिबोट) शाखा आगामी साउन १८ गते (सोमबार)देखि गोंगबु (सामाखुशी) शाखामा समायोजन हुनेछ । हाल बनस्थली शाखाबाट कारोबार गरिरहेका ग्राहकहरूले साउन १७ गते (आइतबार)सम्म सोही शाखाबाट सेवा लिन सक्नेछन् । त्यसपछि भने सम्पूर्ण बैंकिङ सेवा गोंगबु (सामाखुशी) शाखाबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
फाइनान्सले काठमाडौं उपत्यकाभित्र मुख्य शाखा, न्यूरोड, चावहिल र लगनखेल शाखासमेत सञ्चालनमा रहेकाले आवश्यक परे ग्राहकले आफ्नो खाता वा कर्जा ती शाखामध्ये कुनैमा स्थानान्तरण गर्न सक्ने जनाएको छ ।