स्वदेशमै उद्यमशीलता प्रवर्द्धन गर्न सिप्रदीको एकमहिने तालिम सुरु

विदेश पलायन रोक्दै पारिवारिक व्यवसायलाई आधुनिक ढंगले अघि बढाउन ‘नेक्स्ट जेनेरेसन’ कार्यक्रम

काठमाडौं । टाटा जेन्युइन पार्ट्सका आधिकारिक बिक्रेता सिप्रदी अटोपार्ट्स प्रालिले आफ्ना च्यानल पार्टनर्सका दोस्रो पुस्तालाई लक्षित गर्दै ‘च्यानल पार्टनर्स इन्टरप्रेनरशिप डेभलपमेन्ट–२०२६’ कार्यक्रम सुरु गरेको छ । युवा व्यवसायीलाई पारिवारिक व्यवसायको नेतृत्वका लागि तयार पार्ने उद्देश्यसहित सञ्चालन गरिएको एकमहिने तालिमको आइतबार औपचारिक शुभारम्भ गरिएको हो ।

सिप्रदी ट्रेनिङ सेन्टरको सहकार्यमा सञ्चालन भएको तालिमले स्थापित अटोपार्ट्स व्यवसायको पुस्तान्तरणलाई सहज बनाउनुका साथै नयाँ पुस्तालाई स्वदेशमै उद्यमशीलताका अवसर पहिचान गरी आधुनिक ढंगले व्यवसाय विस्तार गर्न मार्गदर्शन गर्ने कम्पनीले जनाएको छ ।

तालिमको उद्घाटन सिप्रदिका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरी, सिप्रदी अटोपार्ट्सका सिनियर जनरल म्यानेजर युवराज बुढाथोकी र जनरल म्यानेजर (एचआर) शारदा रानाको उपस्थितिमा भएको थियो । पहिलो चरणमा नौ जना च्यानल पार्टनर्सका उत्तराधिकारी युवा व्यवसायी सहभागी भएका छन् ।

उद्घाटन समारोहमा बोल्दै सिप्रदीका पदाधिकारीहरूले नेपालको अटोपार्ट्स व्यवसायलाई थप व्यवस्थित, डिजिटल र आधुनिक बनाउन नयाँ पुस्ताको भूमिका निर्णायक हुने बताए । युवाहरू विदेशिनुभन्दा स्वदेशमै बसेर आधुनिक प्रविधि र नवीन सोचका साथ पारिवारिक व्यवसायलाई नयाँ उचाइमा पुर्याउनुपर्ने उनीहरूको भनाइ थियो ।

कम्पनीले आगामी दिनमा तालिमलाई देशभर विस्तार गर्दै अन्य च्यानल पार्टनर्सका भावी उत्तराधिकारीलाई पनि समेट्ने योजना बनाएको जनाएको छ । तालिममार्फत सहभागीहरूलाई टाटा जेन्युइन पार्ट्सको बजार, वैज्ञानिक व्यवस्थापन, नाफा वृद्धि र डिजिटल प्रविधिको प्रयोगमार्फत व्यवसाय विस्तारका सीप प्रदान गरिने कम्पनीको अपेक्षा छ ।

Share News