काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०३/४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारीस्वरूप सरोकारवाला मन्त्रालयका उच्च अधिकारीहरूसँग छलफल सुरू गरेका छन् ।
अर्थ मन्त्रालयको सुवर्ण हलमा सोमबार आयोजित छलफलमा बजेट कार्यान्वयनको प्रगति, मन्त्रालयगत जिम्मेवारी, कार्ययोजना तथा कार्यान्वयनमा देखिन सक्ने चुनौतीबारे समीक्षा भइरहेको छ ।
अर्थमन्त्री डा वाग्लेको अध्यक्षतामा भइरहेको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा बजेट कार्यान्वयनसँग प्रत्यक्ष सम्बन्धित मन्त्रालयका सचिव र प्रतिनिधिहरू सहभागी छन् ।
बैठकमा पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा खाद्य सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महिला, गृह तथा रक्षा मन्त्रालयका सचिव एवं प्रतिनिधिहरूको सहभागिता रहेको मन्त्री वाग्लेको सचिवालयले जनाएको छ।
अर्थमन्त्री वाग्लेको सचिवालयका अनुसार बजेटमा समेटिएका कार्यक्रमहरू समयमै कार्यान्वयन गर्ने, मन्त्रालयहरूबीच समन्वय बढाउने तथा विकास खर्चको प्रभावकारिता अभिवृद्धि गर्ने विषयमा बैठक केन्द्रित रहेको छ ।