काठमाडौं । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा १ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी सहायक कम्पनी सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसको समेत हो । कम्पनीका अनुसार गत आवको ९ महिनामा लर्ड बुद्धले १ अर्ब १५ करोड ६० लाख रुपैयाँ र सञ्जीवनी कलेजले ६९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेका हुन् ।
सन् १९९६ मा चिकित्सकहरूको समूहद्वारा स्थापना भएको लर्ड बुद्ध एजुकेशनल एकेडेमीले सन् १९९७ देखि एमबीबीएस कार्यक्रम सञ्चालन गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवा क्षेत्रमा योगदान दिँदै आएको छ । हाल कम्पनीले बाँकेको कोहलपुरस्थित ५०० शय्याको शिक्षण अस्पताल सञ्चालन गरिरहेको छ भने नेपालगञ्जस्थित अस्पतालको सञ्चालन सहायक कम्पनी सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिमार्फत भइरहेको छ ।
लर्ड बुद्धको आम्दानी पछिल्ला वर्षमा निरन्तर बढ्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले २ अर्ब १ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो। त्यस्तै, आव २०८०/८१ मा १ अर्ब ८१ करोड ६० लाख, आव २०७९/८० मा १ अर्ब ४० करोड ३० लाख, आव २०७८/७९ मा १ अर्ब ५२ करोड ६० लाख, आव २०७७/७८ मा १ अर्ब ५१ करोड ९० लाख, आव २०७६/७७ मा १ अर्ब ३८ करोड १० लाख तथा आव २०७५/७६ मा १ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
यस्तै, सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस गत आर्थिक वर्ष २१ करोड ९० लाख रुपैयाँ रहेको आम्दानी गरेको थियो ।
लर्ड बुद्ध अस्पतालको बेड अकुपेन्सी आर्थिक वर्ष २०७८/७९ देखि हालसम्म ५०-५५ प्रतिशतको हाराहारीमा स्थिर रहेको कम्पनीले जनाएको छ । सञ्चालन विस्तार र स्थिर खर्च व्यवस्थापनका कारण आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन नाफा मार्जिन करिब १५ प्रतिशत पुगेको थियो, जुन अघिल्लो वर्ष ९ प्रतिशत थियो ।
अस्पताल सेवा, मेडिकल कलेज, फार्मेसी तथा सेवा शुल्क कम्पनीका प्रमुख आम्दानी स्रोत हुन् । गत आर्थिक वर्षको ९ महिनामा कुल सञ्चालन आम्दानीमध्ये करिब ३५ प्रतिशत अस्पताल सेवाबाट, ३४ प्रतिशत मेडिकल कलेजबाट तथा बाँकी सेवा शुल्क, फार्मेसी र अन्य गतिविधिबाट प्राप्त भएको कम्पनीले जनाएको छ ।
लर्ड बुद्धले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब रुपैयाँ ऋण लिएको छ । यसमध्ये ९५ करोड रुपैयाँ दीर्घकालीन र ५ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ । साथै सहायक कम्पनी सञ्जीवनी कलेजले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ६८ करोड रुपैयाँ ऋण लिएको जनाएको छ ।
३१७ शय्याको सञ्जीवनी कलेज अफ मेडिकल
सहायक कम्पनी सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिले ३१७ शय्याको अस्पताल सञ्चालन गरिरहेको छ । संस्थाले पूर्वाञ्चल विश्वविद्यालय तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत बीएससी नर्सिङ, बीएन र बीपीएचलगायत विभिन्न प्यारामेडिकल कार्यक्रम सञ्चालनको स्वीकृति प्राप्त गरेको छ ।
२०२४ जुलाईमा लर्ड बुद्ध एजुकेशनल एकेडेमीबाट नेपालगञ्जस्थित अस्पतालसम्बन्धी सम्पत्ति नेपालगञ्ज हस्पिटल एण्ड रिसर्च ट्रेनिङ सेन्टर प्रालिमा हस्तान्तरण गरिएको थियो । त्यसपछि २५ जुलाई २०२४ मा उक्त कम्पनी सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिसँग गाभिएको थियो । त्यसयता नेपालगञ्ज अस्पतालको सञ्चालन तथा त्यसबाट हुने आम्दानी सञ्जीवनी कलेजकै वित्तीय विवरणमा समावेश हुँदै आएको छ ।
लर्ड बुद्ध एजुकेशनल एकेडेमीको सञ्चालक समितिमा ८ जना र सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसको सञ्चालक समितिमा ७ जना सदस्य रहेका छन् । दुवै कम्पनीको नेतृत्व अध्यक्ष डा. खुमा प्रसाद अर्यालले गरिरहेका छन् । स्वास्थ्य शिक्षा तथा अस्पताल व्यवस्थापन क्षेत्रमा दुई दशक अनुभव रहेका उनी गण्डकी मेडिकल कलेज र नेपालगञ्ज मेडिकल कलेजका अध्यक्ष तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसका प्रबन्ध निर्देशक पनि हुन् । दुवै कम्पनीका प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडिया चार दशकभन्दा बढी समयदेखि चिकित्सा क्षेत्रमा सक्रिय छन् ।
कम्पनीका अनुसार नेपालमा स्वास्थ्य सेवा क्षेत्र आम्दानी र रोजगारीका हिसाबले तीव्र रूपमा विस्तार भइरहेको प्रमुख क्षेत्रमध्ये एक हो । स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवा सुविधामा सुधार, सरकारी तथा निजी क्षेत्रको बढ्दो लगानी, स्वास्थ्यप्रतिको चेतना, जीवनशैलीजन्य रोगको वृद्धि र स्वास्थ्य बीमाको विस्तारका कारण आगामी दिनमा स्वास्थ्य सेवाको माग अझ बढ्ने अपेक्षा गरिएको छ । निजी स्वास्थ्य संस्थाप्रतिको बढ्दो आकर्षणले कम्पनीका लागि सेवा विस्तार र बिरामी संख्या बढाउने अवसर रहेको कम्पनीको भनाइ छ ।
यद्यपि, स्वास्थ्य र शिक्षा क्षेत्र अझै कडा सरकारी नियमनअन्तर्गत सञ्चालन भइरहेका छन् । नीतिगत तथा कानुनी परिवर्तनले निजी स्वास्थ्य तथा शैक्षिक संस्थाको सञ्चालन, विस्तार योजना र वित्तीय प्रदर्शनमा प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले नियामकीय जोखिम पनि रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै, स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले उपचारमा हुने कुनै पनि लापरबाही वा चिकित्सक तथा स्वास्थ्यकर्मीको कमजोरीले अस्पतालको प्रतिष्ठा र जनविश्वासमा गम्भीर असर पार्न सक्ने कम्पनीको भनाइ छ । त्यसैले सेवा गुणस्तर, बिरामीको सुरक्षा र सञ्चालनका उच्च मापदण्ड कायम राख्नु कम्पनीका लागि अत्यावश्यक रहेको जनाएको छ ।