पोखरा फाइनान्स र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले शुक्रबार (असार २६) गतेदेखि एकीकृत कारोबार सुरु गरेका छन् । 

दुवै वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सञ्चालन गरेका हुन् । 

दुवै संस्था १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । 

मर्जरपश्चात् कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित साविक समृद्धि फाइनान्सको कार्यालयमा रहनेछ । 

मर्जपछि सात सदस्यीय सञ्चालक समिति गठन हुनेछ । समितिमा समृद्धि फाइनान्सबाट अजय मिश्र, दुर्गा थापा, दिनेशकुमार बर्तौला र सुदीप घिमिरे तथा पोखरा फाइनान्सबाट प्रतीक गुरुङ, यमबहादुर सुर्खाली र तीलबहादुर गुरुङ रहनेछन् । 

हालका अध्यक्ष अजय मिश्रले मर्जरपछिको संस्थाको अध्यक्षको जिम्मेवारी पनि सम्हाल्ने स्रोतको भनाइ छ । 

यस्तै, मर्जरपछिको कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश गुरुङ नियुक्त हुने सहमति भएको छ । 

मर्जरपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड १४ लाख ६८ हजार रुपैयाँ पुग्नेछ । 

हाल पोखरा फाइनान्सको चुक्ता पुँजी १ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ र समृद्धि फाइनान्सको ८१ करोड ८९ लाख ११ हजार रुपैयाँ रहेको छ । एकीकृत संस्थाको शाखा सञ्जाल ३६ वटा पुग्नेछ भने कर्मचारी संख्या करिब ३०० रहनेछ । 

Share News