काठमाडौं । चौधरी समूहअन्तर्गत सञ्चालित सी.जी. फुड्स (नेपाल) लिमिटेडको सञ्चालन आम्दानी गत आर्थिक वर्ष २०८१/८२ मा घटेको छ । कम्पनीले उक्त वर्ष ११ अर्ब ३५ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.७२ प्रतिशत अर्थात् ३१ करोड ८० लाख रुपैयाँ कम हो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ११ अर्ब ६७ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
कम्पनीको आम्दानी पछिल्ला वर्षहरूमा उतारचढावपूर्ण देखिएको छ । कम्पनीले आव २०७९/८० मा १२ अर्ब ५१ करोड ३० लाख रुपैयाँ, आव २०७८/७९ मा ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ, आव २०७७/७८ मा ७ अर्ब ७७ करोड रुपैयाँ, आव २०७६/७७ मा ८ अर्ब १० करोड २० लाख रुपैयाँ, आव २०७५/७६ मा ९ अर्ब ११ करोड ६० लाख रुपैयाँ, आव २०७४/७५ मा ८ अर्ब १ करोड ५० लाख रुपैयाँ, आव २०७३/७४ मा ७ अर्ब २३ करोड ४० लाख रुपैयाँ, आव २०७२/७१ मा ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ, आव २०७१/७२ मा ६ अर्ब ८९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
चौधरी समूह अन्तर्गतको सबैभन्दा पुरानो औद्योगिक एकाइमध्ये एक मानिने सीजी फुड्सले इन्स्ट्यान्ट चाउचाउ, पेय पदार्थ, एक्स्ट्रुडेड स्न्याक्स लगायतका एफएमसीजी उत्पादन निर्माण तथा बिक्री गर्दै आएको छ । कम्पनीले सन् १९८४ मा काठमाडौंस्थित आफ्नो पहिलो उद्योगमार्फत व्यावसायिक उत्पादन सुरु गरेको थियो । उक्त उद्योग थाइल्याण्डको थाई प्रिजर्भ्ड फुड फ्याक्ट्रीसँगको प्राविधिक सहकार्यमा सञ्चालनमा ल्याइएको थियो ।
सीजी फुड्सले ‘वाइवाइ’ जस्तो चर्चित नुडल्स ब्रान्डसँगै ‘रियो’ र ‘क्विक्स’ लगायतका ब्रान्डमार्फत आफ्ना उत्पादन बजारमा उपलब्ध गराउँदै आएको छ । तीमध्ये ‘वाइवाइ’ कम्पनीको प्रमुख र पहिचान बोकेको ब्रान्ड हो । पछिल्ला वर्षहरूमा पिरो स्वादका नुडल्स उत्पादन गर्ने नयाँ ब्रान्डहरूको प्रभाव बढ्दै गए पनि ‘वाइवाइ’ को बजार पहिचान र उपभोक्ता स्वीकृति बलियो रहेको कम्पनीको दाबी छ ।
कम्पनीको सेयर स्वामित्व संरचनाअनुसार निर्वाण चौधरीको करिब ७६ प्रतिशत हिस्सा छ । त्यसैगरी, अपोलो इन्भेस्टमेन्ट प्रालिको २० प्रतिशत, वरुण चौधरीको करिब ४ प्रतिशत, राहुल चौधरीको ०.२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।
कम्पनीका अनुसार मुख्य कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय कमोडिटी बजारको उतारचढाव, आपूर्ति-मागको अवस्था, भूराजनीतिक घटनाक्रम तथा विदेशी विनिमय दरमा हुने परिवर्तनका कारण अस्थिर रहने भएकाले नाफा मार्जिनमा प्रत्यक्ष प्रभाव परेको छ । यही कारणले कम्पनीको नाफा मार्जिन गत आर्थिक वर्ष ६.६ प्रतिशतमा झरेको छ, जबकि अघिल्लो वर्ष यो १२.१ प्रतिशत थियो ।
यद्यपि, चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा कम्पनीको सञ्चालन नाफा मार्जिन सुधार भएर ११.२ प्रतिशत पुगेको जनाएको छ । कम्पनीका अनुसार यो सुधारमा निर्यात बिक्रीको हिस्सा बढ्नु र गहुँको पिठोको मूल्य केही घट्नुले सहयोग पुगेको हो ।
सीजी फुड्सले पछिल्ला वर्षहरूमा उच्च अनुपातमा लाभांश वितरण गर्दै आएको छ । कम्पनीले गत आर्थिक वर्ष खुद नाफाको करिब ९२ प्रतिशत लाभांश वितरण गरेको थियो भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो अनुपात १०० प्रतिशत पुगेको जनाएको छ ।
कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ९९ करोड ५० लाख रुपैयाँ ऋण लिएको छ ।