राष्ट्र बैंकले बैंकहरूको वर्गीकरण पुनरावलोकन गर्ने, नयाँ यी १२ काम गर्दै

राष्ट्र बैंकले केके गर्दैछ नयाँ काम ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको वर्गीकरण र कार्यदायरा पुनरावलोकन गर्न विस्तृत अध्ययन भइरहेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा सार्वजनिक गर्दै बैंकहरूको वर्गीकरण र कार्यदायरामा पुनरावलोकनका लागि अध्ययन भइरहेको बताएको हो । 

राष्ट्र बैंकले समीक्षामार्फत लघुवित्त वित्तीय संस्थाको कर्जा लक्षित वर्गसम्म पुग्ने सुनिश्चित गरी कर्जा सदुपयोग अभिवृद्धि गर्न लघुवित्तको लागि लक्षित वर्ग, ऋण प्राप्त गर्ने मापदण्ड र ऋणीको योग्यतासम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्नका लागि अध्ययनको काम भइरहेको पनि बताएको छ । 

यस्तै, सुन आयात तथा बिक्री वितरणसम्बन्धी अध्ययन प्रतिवेदनको सिफारिससमेतको आधारमा नेपाल सरकारको समन्वयमा सुन आयात तथा बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्नका लागि पनि अध्ययनको काम जारी नै रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । 

यस्तै, विप्रेषण कम्पनीहरूको अर्थतन्त्रमा योगदान बढ्दै गएको सन्दर्भमा त्यस्ता कम्पनीहरूलाई पुँजी तथा कारोबारका आधारमा वर्गीकरण गर्नका लागि अध्ययनको काम भइरहेको र बङ्गलादेश र श्रीलङ्कालगायत विदेशी मुद्राको कारोबार बढ्दै गएको मुलुकहरूका मुद्रालाई परिवत्र्य विदेशी मुद्राको सूचीमा थप गर्नका लागि अध्ययन भइरहेको बताएको छ । 

नेपाल राष्ट्र बैंकले सबल र सुरक्षित भुक्तानी प्रणालीको विकास गरी विद्युतीय माध्यमबाट हुने कारोबार र वित्तीय पहुँच अभिवृद्धि गर्न पनि अध्ययन भइरहेको बताएको छ । 

यस्तै, हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रकृयागत व्यवस्थामा फिट एण्ड प्रपर टेष्ट कर्जाको ब्याजदर गणना, सेवा शुल्कलगायतका विषयहरूलाई समेटी उक्त नियामकीय व्यवस्थामा आवश्यक संशोधन गर्नका लागि अध्ययनको काम भइरहेको पनि बताएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको तरलता जोखिम न्यूनीकरण गरी स्थायित्व कायम गर्न अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार लिक्विडिडी कभरेज रेसियो र खुद स्थिर फण्डिङ अनुपात जस्ता व्यवस्थाहरूको प्रभावकारी कार्यान्वयन भएपश्चात्कर्जा निक्षेप अनुपातसम्बन्धी नियामकीय व्यवस्थामा पुनरावलोकन गर्नका लागि अध्ययनको काम भइरहेको जानकारी दिएको छ । 

यस्तै, चेक अनादरको कारण कालो सूचीमा पर्ने विद्यमान व्यवस्थामा नीतिगत सहजीकरण गर्नका लागि र विद्यमान कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गर्नका लागि पनि अध्ययनको काम भइरहेको बताएको छ । 

राष्ट्र बैंकले डाटा सेन्टर, क्लाउड कम्प्युटिङ, रोबटिक ल्याब र एआई लगायतका पूर्वाधार निर्माणमा हुने विदेशी लगानी सहजीकरण गर्नका साथै, त्यस्ता परियोजनामा बैंक तथा वित्तीय संस्थाबाट हुने सहवित्तीयकरण कर्जा प्रवाहमा प्रोत्साहन गर्नका लागि अध्ययनको काम भइरहेको बताएको छ ।
 

Share News