काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति कार्यान्वयनका क्रममा अर्थतन्त्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै प्रकारका चुनौतीहरूको सामना गर्नुपरेको जनाएको छ । राष्ट्र बैंकका अनुसार विश्व भूराजनीतिले निम्त्याएको व्यापार महसुलको प्रभाव, इजरायल-अमेरिका र इरानबीचको युद्धका कारण पेट्रोलियम पूर्वाधारमा पुगेको क्षति, स्ट्रेट अफ हर्मुज बन्द हुँदा आपूर्ति श्रृंखलामा देखिएको अवरोध तथा इन्धनको मूल्यवृद्धिले विश्व मुद्रास्फीतिमा थप दबाब सिर्जना गरेको छ ।
राष्ट्र बैंकले ढिलो मनसुन भित्रिनु र असोज महिनामा परेको अधिक वर्षाका कारण कृषि उत्पादनमा कमी आएको उल्लेख गरेको छ । साथै, २०८२ भदौ २३ र २४ को आन्दोलनपश्चात उत्पन्न असहज परिस्थिति तथा निजी क्षेत्रको मनोबल कमजोर हुँदा व्यवसाय विस्तार हुन नसकेको र त्यसले समष्टिगत मागमा दबाब सिर्जना गरेको जनाइएको छ ।
मौद्रिक नीतिको कार्यान्वयनमा वैदेशिक व्यापारमा आएको कमी, सार्वजनिक तथा निजी निर्माण क्षेत्रमा देखिएको सुस्तता, घरजग्गा कित्ताकाट र विद्युत् खरिद सम्झौता जस्ता विषयमा कायम अन्योलले पनि असर पारेको राष्ट्र बैंकको भनाइ छ। यी कारणले वित्तीय प्रणालीबाट अपेक्षित रूपमा कर्जा प्रवाह बढ्न नसकेको उल्लेख गरिएको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक गतिविधि अपेक्षित रूपमा विस्तार हुन नसक्नु र विगतमा प्रवाह भएका कर्जाको गुणस्तर कमजोर रहनुले निष्क्रिय कर्जा अनुपात बढेको छ। यसले बैंकहरूको लगानी क्षमता खुम्चिँदै गएको र विप्रेषण आप्रवाहबाट वित्तीय प्रणालीमा रकम थपिँदै जाँदा पनि कर्जा प्रवाह तथा लगानी विस्तार हुन नसक्दा अधिक तरलताको अवस्था कायम रहेको जनाइएको छ। यसले मौद्रिक व्यवस्थापनमा समेत दबाब सिर्जना गरेको राष्ट्र बैंकले उल्लेख गरेको छ ।