हालान्ड : दि नर्वेजियन हिरो

नर्वेलाई पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुर्याई इतिहास नै फेरिदिए

काठमाडौं । आफ्नो शान्त स्वभाव, अद्भूत गोल गर्ने क्षमता र अनुहारको मुस्कानसहित नर्वेका स्टार स्ट्राइकर अर्लिङ हालान्डले फेरि एकपटक फुटबल इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरमा लेखाएका छन् ।

‘यो नर्वेको इतिहासकै सबैभन्दा अविश्वसनीय दिनमध्ये एक हो,’ फिफा विश्वकपको क्वार्टरफाइनलमा नर्वेलाई पुर्याएपछि उनले भने ।

२५ वर्षीय हालान्डको खेलको अन्त्यतिर गरेको दुई गोलले पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई प्रतियोगिताबाट बाहिर पठायो र नर्वेलाई इतिहासमै पहिलो पटक अन्तिम आठ (क्वार्टरफाइनल) मा प्रवेश गरायो।

हालान्डको अग्लो कद, बलियो शारीरिक बनावट र जन्मजात गोल गर्ने क्षमता कठिन क्षणमा नर्वेलाई अघि बढाउने सबैभन्दा ठूलो हतियार मानिन्छ ।

null

पूरै खेलभरि खासै प्रभाव जमाउन नसकेका हालान्डले दोस्रो हाफको ‘हाइड्रेसन ब्रेक’ का क्रममा प्रशिक्षक स्टाले सोलबाकेनसँग छोटो कुराकानी गरेका थिए । त्यसबेला प्रशिक्षकले उनलाई बाँकी सबै ऊर्जा मैदानमा खन्याउन र निर्णायक आक्रमण गर्न आग्रह गरेका थिए ।

प्रशिक्षकको त्यो सन्देश हालान्डले अक्षरशः पूरा गरे । उनले ७९औं मिनेटमा हेडमार्फत पहिलो गोल गरे भने निर्धारित समय सकिनुअघि अर्को गोल थप्दै नर्वेको ऐतिहासिक जित सुनिश्चित गरे।

हालान्ड अहिले नर्वेका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । उनले ५४ खेलमा ६२ गोल गरेका छन्, जुन प्रति खेल १.१५ गोल हो । लामो कपाल, उत्कृष्ट फिनिसिङ र शान्त स्वभावका कारण उनलाई प्रायः ‘द स्माइलिङ असासिन’ भनेर पनि चिनिन्छ ।

ब्राजिलविरुद्धको दुई गोलसँगै नर्वेका लागि उनको पछिल्ला १४ खेलमा गोल संख्या २७ पुगेको छ । खेलको उत्कृष्ट खेलाडी घोषित भए पनि हालान्डले जितको सबैभन्दा ठूलो श्रेय गोलरक्षक ओर्जान नाइलान्डलाई दिए।

‘मेरो लागि खेलको उत्कृष्ट खेलाडी उनी नै हुन्, मैले दुई गोल गरेँ पनि । उनले यति धेरै उत्कृष्ट बचाउ गरे कि त्यसबिना हामी सायद घर फर्किन्थ्यौं,’ हालान्डले भने, ‘हाम्रो इतिहासमै पहिलो पटक क्वार्टरफाइनल खेल्ने अवसर दिलाउने मुख्य व्यक्ति उनी हुन् । उहाँप्रति मेरो ठूलो सम्मान छ ।’

null

मेसी, एमबाप्पे र रोनाल्डोको छायाँबाट आफ्नै पहिचान

विश्वकपअघि सबैको ध्यान लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र केलियन एमबाप्पेतर्फ केन्द्रित थियो । तर हालान्डले आफ्नै प्रदर्शनबाट उनीहरूसँग बराबरी गर्दै विश्व फुटबलमा छुट्टै कथा लेखिरहेका छन् ।

म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्ड अहिले गोल्डेन बुटको दौडमा मेस्सी र एमबाप्पेसँग संयुक्त रूपमा शीर्ष स्थानमा छन् । तीनैजनाले प्रतियोगितामा समान सात गोल गरेका छन् ।

विश्वकपअघि उनको सबैभन्दा ठूलो उपलब्धि करिब तीन दशकपछि नर्वेलाई पुनः विश्वकपमा फर्काउनु थियो । त्यसपछि उनले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताभर आफ्नै छाप छोडेका छन्।

१९५ सेन्टिमिटर (६ फिट ५ इन्च) अग्ला हालान्डको सफलताको आधार नम्रता, आत्मविश्वास र लक्ष्यप्रतिको अटल समर्पण मानिन्छ।

‘यस प्रतियोगितामा मैले धेरै पटक आफ्नो उत्कृष्ट स्तर भेट्टाएँ, तर हरेक पटक त्यसपछि अर्को नयाँ स्तर आएको छ,’ उनले भने ।

null

‘यदि मैले एक वा दुई अवसर पाएँ भने प्रायः त्यो गोलमा परिणत हुन्छ । म के गर्छु भन्ने मलाई पनि खासै थाहा हुँदैन, म स्वभावैले यस्तै छु । मुख्य कुरा एकाग्र रहनु हो । अवसर आउँदा के गर्ने भन्ने मलाई स्पष्ट थाहा हुन्छ,’ उनले थपे ।

हालान्डले यो रात पुस्तौंसम्म सम्झिइने पनि उल्लेख गरे ।

ब्राजिललाई हराएर सुपरस्टार नेयमारको अन्तर्राष्ट्रिय करिअर अन्त्य गराउने ऐतिहासिक क्षणको महत्त्व हालान्डले राम्रोसँग बुझेका थिए।

‘ब्राजिलविरुद्ध दुई गोल गर्नु मेरो जीवनकै अविस्मरणीय उपलब्धि हो । तर ती गोल केवल मेरामात्र होइनन्,’ उनले भने ।

‘ती हाम्रा प्रत्येक त्यागी खेलाडीका हुन्, हामीमाथि विश्वास गर्ने प्रशिक्षकहरूका हुन्, कठिन समयमा पनि साथ नछोड्ने समर्थकहरूका हुन् र आजपछि ‘सबै सम्भव छ’ भन्ने विश्वास गर्ने नर्वेका हरेक बालबालिकाका हुन्,’ उनले थपे ।

उनका अनुसार आजको रात नर्वेका हरेक घरमा सधैं सम्झिइनेछ । नर्वेले केवल ब्राजिललाई हराएका होइन, आफ्नो देशलाई पुस्तौंसम्म बाँचिरहने एउटा अमूल्य सम्झनासमेत दिएको हो ।

जितपछि आफ्ना आँखा रसाएको स्वीकार गर्दै हालान्डले भने, ‘अब जे भए पनि कसैले हामीबाट यो अनुभूति, यी आँसु र इतिहासको यो गौरव खोस्न सक्दैन ।’

null

सामाजिक सञ्जालका लोकप्रिय स्टार

मेसी, रोनाल्डो र एमबाप्पे विश्वव्यापी सुपरस्टारका रूपमा विश्वकपमा प्रवेश गर्दा हालान्ड सामाजिक सञ्जालमा आफ्नो रमाइलो स्वभावका कारण झन् लोकप्रिय बनेका थिए ।

विशेषगरी स्न्यापच्याट र इन्स्टाग्राममा उनका हास्यपूर्ण पोस्टहरूले उनलाई समर्थकहरूमाझ अझ नजिक र सहज व्यक्तित्वका रूपमा स्थापित गरेका छन्।

ब्राजिलमाथिको ऐतिहासिक जितपछि पनि उनले आफ्नै शैलीमा ड्रेसिङ रुमबाट जर्सी घाँटीमा बेरेको तस्बिर पोस्ट गरे, जसले केही घण्टामै लाखौं लाइक बटुल्यो ।

एन्सेलोटी भन्छन्– हालान्डलाई रोक्न सबैभन्दा गाह्रो कुरा उनको समय छनोट गर्ने क्षमता हो

ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले हालान्डको वास्तविक शक्ति उनको शारीरिक बल वा गति नभई सही समय रोज्ने क्षमतामा रहेको बताए ।

‘उनले हरेक बलका लागि दौडेर ऊर्जा खर्च गर्दैनन् । उनी डिफेन्डरलाई अध्ययन गर्छन्, धैर्यपूर्वक पर्खन्छन् र डिफेन्डरको ध्यान कहिले भंग हुन्छ भन्ने बुझ्छन्,’ एन्सेलोटीले भने, ‘त्यसपछि एकै सेकेन्डमा उनी तपाईंको नियन्त्रणभन्दा बाहिर पुगिसकेका हुन्छन् । 

तपाईं ८९ मिनेटसम्म उत्कृष्ट डिफेन्स गर्न सक्नुहुन्छ, तर फुटबलको निर्णय केही क्षणले गर्छ र ती क्षण चिन्नमा हालान्ड सम्भवतः विश्वकै उत्कृष्ट खेलाडी हुन् ।’

‘त्यसैले त डिफेन्डरहरू उनलाई सामना गर्न रुचाउँदैनन् । तपाईंले पूरै खेल नियन्त्रण गरेको महसुस गर्नुहुन्छ, तर अचानक उनी फेरि अर्को गोलको उत्सव मनाइरहेका हुन्छन्,’ उनले थपे ।

null

अब इंग्ल्यान्डसँगको चुनौती

अब नर्वेले क्वार्टरफाइनलमा ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्डसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डले सह–आयोजक मेक्सिकोलाई ३–२ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो । इंग्ल्यान्डविरुद्ध हालान्डसँग आफ्नो देशका लागि फेरि इतिहास रच्ने अर्को अवसर हुनेछ ।

null

क्वार्टरफाइनलमा प्रवेश गरेपछि नर्वेका खेलाडीहरू अर्लिङ हालान्डसँगै जितको खुसी मनाउँदै । [डिलन मार्टिनेज/रायटर्स]

तर अहिलेका लागि उनी आफ्ना देशवासीलाई केवल यो ऐतिहासिक क्षणको आनन्द लिन आग्रह गर्छन् ।

विजयपछि मैदानमै चर्चित ‘भाइकिङ रो–बोट’ उत्सवको नेतृत्व गरेका हालान्डले भने, ‘सबैले यो क्षणको आनन्द लिनुपर्छ ।’

‘मैले भने झैं, यो नर्वेको इतिहासकै सबैभन्दा अविश्वसनीय दिनमध्ये एक हो। यसलाई मनाउनुहोस्, आत्मसात् गर्नुहोस् र यो क्षणलाई पूर्ण रूपमा जिउनुहोस्,’ उनले थपे ।

अन्य सान्दर्भिक सामग्रीहरू : 

चम्किँदै भिनिसियस जुनियर

गोल्डेन बुटका दाबेदार

विश्वकै भरपर्दा स्ट्राइकर ह्यारी केन

डीआर कङ्गोको ऐतिहासिक यात्रामा इंग्ल्यान्डको चुनौती 

यी हुन् विश्वकप जित्ने प्रमुख दाबेदार टोली [अप्टा विश्लेषण] 

विश्वकपमा गोलको वर्षा, नकआउटअघि नै तोडियो सर्वाधिक कीर्तिमान 

मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः  लेखे

Share News