२.६० खर्बको कारोबारमा ८३ करोड आम्दानी, मार्जिन लेण्डिङका लागि ३ अर्ब ऋण

काठमाडौं । नासा सेक्युरिटिज कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा ८३ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा १५८.२० प्रतिशत अर्थात् ५१ करोड १० लाख रुपैयाँ बढी हो । कम्पनीले आव २०८०/८१ मा ३२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । 

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीका अनुसार कुल आम्दानीमध्ये ९७ प्रतिशत हिस्सा ब्रोकरेज कमिसनबाट आएको हो । सेयर दलाली कमिसन आम्दानीमा आएको तीव्र वृद्धिले कुल सञ्चालन आम्दानीमा उल्लेख्य उछाल ल्याएको कम्पनीको भनाइ छ ।

सन् २००७ डिसेम्बरमा स्थापित नासा सेक्युरिटिज नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट इजाजतप्राप्त धितोपत्र दलाल (सेयर ब्रोकर) तथा निक्षेप सदस्य (डिपोजिटरी पार्टिसिपेन्ट) कम्पनी हो । कम्पनीको मुख्य व्यवसाय सेयर बजारमा धितोपत्रको खरिद–बिक्री सहजीकरण गर्नु र त्यसबाट कमिसन आम्दानी आर्जन गर्नु हो । नासा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सदस्यसमेत हो र यसले नेप्सेबाट सदस्यता प्रमाणपत्र नम्बर ५८ प्राप्त गरेको छ ।

कम्पनीले वीरगञ्ज, पोखरा र जनकपुरमा रहेका तीन शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ । सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट निक्षेप सदस्य (डीपी) को सदस्यता लिएको नासाले लगानीकर्तालाई धितोपत्र अभिलेखीकरण तथा सम्बन्धित सेवा उपलब्ध गराउँदै आएको छ । यसअन्तर्गत डिम्याट खाता खोल्ने तथा नवीकरण गर्ने, भौतिक सेयरलाई अभौतिकीकरण (डिम्याट) गर्ने, धितोपत्र धितो राख्ने तथा फुकुवा गर्ने, साथै आईपीओ तथा हकप्रद सेयरमा आवेदन दिने लगायतका सेवा प्रदान गरिँदै आएको छ ।

नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ सुविधा निर्देशिका, २०८२ लागू गरेसँगै कम्पनीले मार्जिन लेन्डिङ सुविधा सञ्चालनका लागि पनि स्वीकृति लिइसकेको छ । कम्पनीले लगानीकर्तालाई धितोपत्र धितोमा कर्जा सुविधा उपलब्ध गराउँदै आएको छ । यसका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब रुपैयाँ ऋण लिइएको छ, जसमा १ करोड १० लाख रुपैयाँ दीर्घकालीन र २ अर्ब ९८ करोड ९० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ ।

नासा सेक्युरिटिजको नेतृत्व अध्यक्ष मदन पौड्यालले गर्दै आएका छन् । उनीसँग वित्तीय तथा पुँजी बजार क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख प्रवद्र्धक सन्दीप जलान हुन् ।

खुद नाफा ३१ करोड रुपैयाँ

गत आर्थिक वर्ष २०८१/८२ मा नासाको कुल कारोबार रकम १९८ प्रतिशतले बढेर २ खर्ब ६० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । कारोबार रकममा आएको यही वृद्धिले ब्रोकिङ कमिसन आम्दानीलाई थप बल दिएको कम्पनीले जनाएको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा ३१ करोड २० लाख रुपैयाँ र ग्रस क्यास अक्रुअल ३३ करोड ८० लाख रुपैयाँ कायम भएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको खुद सम्पत्ति (नेटवर्थ) ८५ करोड ७० लाख रुपैयाँ पुगेको छ भने समग्र ऋण दायित्व ७५ करोड ७० लाख रुपैयाँ रहेको छ । यसमा ४० करोड १० लाख रुपैयाँ बराबरको गैर–कोषमा आधारित सीमा पनि समावेश छ । यस आधारमा कम्पनीको समग्र गियरिङ अनुपात ०.८८ गुणा पुगेको छ, जुन अघिल्लो वर्षको ०.८३ गुणाको तुलनामा केही उच्च हो । उक्त गैर–कोषमा आधारित सीमा नासाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) तथा सिडिएस एन्ड क्लियरिङ लिमिटेडलाई उपलब्ध गराएको बैंक ग्यारेन्टीसँग सम्बन्धित रहेको बताइएको छ ।

नासा सेक्युरिटिजले पछिल्ला वर्षहरूमा खरिद–बिक्री कारोबार रकम (टर्नओभर) का आधारमा ६ प्रतिशतभन्दा बढी बजार हिस्सा कायम राख्दै इक्विटी सेयर ब्रोकिङ उद्योगमा आफूलाई अग्रणी कम्पनीका रूपमा स्थापित गरेको जनाएको छ । कम्पनीका अनुसार सन् २०२६ को अप्रिल मध्यसम्म यसको बजार हिस्सा ६.५० प्रतिशत पुगेको छ ।

कम्पनीको ग्राहक संरचना पनि यसको सबल पक्ष मानिएको छ । नासासँग ठूलो संख्यामा खुद्रा लगानीकर्ता आबद्ध छन् र ग्राहक आधार विभिन्न वर्गमा फैलिएको छ । यसले सीमित ग्राहकमा निर्भरता कम गर्ने, ग्राहक एकाग्रता जोखिम घटाउने तथा व्यवसायलाई थप सन्तुलित बनाउने सकारात्मक प्रभाव पार्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार मार्जिन लेन्डिङ कारोबार विस्तार भएसँगै ब्रोकरेज आम्दानीबाहेक थप आयस्रोत सिर्जना हुने अपेक्षा गरिएको छ । यद्यपि, ब्रोकरेज आम्दानी मात्र होइन, मार्जिन ट्रेडिङ सुविधा अन्तर्गतको ब्याज आम्दानी पनि अन्ततः सेयर बजारकै प्रदर्शनमा निर्भर रहने भएकाले कम्पनीको समग्र आम्दानी पूर्ण रूपमा बजार जोखिमबाट अलग हुन सक्दैन । सेयर बजारमा कारोबार घट्नु, लगानीकर्ताको मनोबल कमजोर हुनु वा मूल्यमा तीव्र उतारचढाव आउनुले नासाको आम्दानी र नाफामा अस्थिरता ल्याउन सक्ने कम्पनीले जनाएको छ ।

Share News