काठमाडौं । नेपालमा एमजी ब्रान्डका सवारीसाधनको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा २ अर्ब ४० करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो । उक्त आम्दानी अघिल्लो वर्षको तुलनामा ६.३० प्रतिशत अर्थात् २६ करोड रुपैयाँ कम हो । अघिल्लो आव २०८०/८१ मा कम्पनीले ४ अर्ब १२ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कुल आम्दानीमध्ये करिब ८७ प्रतिशत हिस्सा एमजी-४ र एमजी एस-५ दुई मोडलबाट मात्रै आएको थियो ।
यसअघि आव २०७९/८० मा २ अर्ब ७ करोड ६० लाख रुपैयाँ, आव २०७८/७९ मा ३ अर्ब ४७ करोड रुपैयाँ, आव २०७७/७८ मा ७१ करोड ३० लाख रुपैयाँ, आव २०७६/७७ मा ७९ करोड ४० लाख रुपैयाँ र आव २०७५/७६ मा २७ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
सन् २०१६ अगस्टमा स्थापना भएको प्यारामाउन्ट मोटर्सले चीनको एसएआईसी मोटर कर्पोरेसनसँग सम्झौता गरी नेपालमा एमजी ब्रान्डका सवारीसाधनको आधिकारिक बिक्री-वितरण सुरु गरेको थियो । पछि कम्पनीले मार्च २०२० मा जापानको माज्दा मोटर कर्पोरेसनसँग सम्झौता गरी माज्दा ब्रान्डको आधिकारिक वितरकको जिम्मेवारी पनि पायो । त्यस्तै, मार्च २०२४ देखि चीनको वुलिङ ब्रान्डका विद्युतीय यात्रुवाहक सवारीसाधन पनि बिक्री-वितरण गर्दै आएको छ ।
काठमाडौंको नक्सालमा प्रधान कार्यालय रहेको कम्पनीले हाल देशभर आफ्नै तीनवटा बिक्री केन्द्र तथा १५ वटा आधिकारिक बिक्रेतामार्फत सवारीसाधन बिक्री-वितरण गरिरहेको छ ।
नयाँ मोडल र व्यवसाय विस्तारमा जोड
कम्पनीले सन् २०२५ मार्चमा सार्वजनिक गरेको एमजी एस-५ मोडलले मात्रै गत आर्थिक वर्षको कुल आम्दानीमा करिब ४२ प्रतिशत योगदान दिएको छ । हालै बजारमा आएको एमजी एस-६ ले पनि आगामी दिनमा बिक्री बढाउने अपेक्षा गरिएको छ ।
यस्तै, कम्पनीले चिनियाँ विद्युतीय सवारीसाधन ब्रान्ड वुलिङसँग थप नयाँ मोडल नेपाली बजारमा ल्याउने तयारी गरेको छ । तीमध्ये चार ढोका भएको सानो विद्युतीय सवारीसाधन पनि समावेश रहेको छ, जसमा उन्नत विशेषता रहने र बजारमा प्रतिस्पर्धा सीमित हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, कम्पनीले व्यवसाय विस्तारअन्तर्गत नेपालमा मर्सिडिज बेन्ज ब्रान्डका सवारीसाधनका लागि नयाँ आधिकारिक सेवा केन्द्र सञ्चालन गर्ने योजना पनि अघि बढाएको छ । यसले आगामी वर्ष कम्पनीको आम्दानी बढाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ ।
बढ्दो प्रतिस्पर्धाले नाफामा निरन्तर दबाब
नेपालमा विद्युतीय सवारीसाधन बजारमा नयाँ-नयाँ ब्रान्डको प्रवेश र विस्तारसँगै मूल्य प्रतिस्पर्धा तीव्र बन्दै जाँदा नाफामा निरन्तर दबाब परेको कम्पनीले जनाएको छ । यसकारण कम्पनीको सञ्चालन नाफा मार्जिन अघिल्लो वर्ष ६.८ प्रतिशत रहेको गत वर्ष घटेर ५.२ प्रतिशतमा झरेको छ । यद्यपि, मौज्दातमा रहेका सवारीसाधन बिक्री बढाउने अभियान सञ्चालन गरेपछि चालु आर्थिक वर्षको पहिलो ९ महिनामा सञ्चालन नाफा मार्जिन केही सुधार हुँदै करिब ६ प्रतिशत पुगेको छ ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेकाले कर्जाको ब्याजदर अपेक्षाकृत कम भए पनि सञ्चालन नाफामा निरन्तर परेको दबाब र ऋणभार बढ्दै जाँदा कम्पनीको ब्याज भुक्तानी क्षमता कमजोर बनेको कम्पनीको भनाइ छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब ८० करोड रुपैयाँ ऋण लिएको छ ।
कम्पनीको तरलता अवस्था अझै दबाबमा रहेको छ । सवारीसाधन बिक्री-वितरण व्यवसाय स्वभवतः कार्यशील पुँजी बढी आवश्यक पर्ने क्षेत्र भए पनि कम्पनीले मौज्दात उल्लेख्य रूपमा बढाएपछि कार्यशील पुँजीमा थप दबाब परेको हो । गत वर्षको अन्त्यतिर कम्पनीले ठूलो परिमाणमा सवारीसाधन मौज्दात राखेका कारण कार्यशील पुँजीमा गरिएको लगानी उल्लेख्य रूपमा बढेको छ । त्यसको प्रभावस्वरूप सञ्चालन आम्दानीको तुलनामा खुद कार्यशील पुँजीको अनुपात गत वर्ष ५६ प्रतिशत रहेकोमा चालु आवको ९ महिनामा बढेर ६६ प्रतिशत पुगेको छ ।
प्यारामाउन्ट मोटर्सको कारोबार अझै पनि सीमित सवारी मोडलमा अत्यधिक निर्भर रहेको छ । गत वर्ष कम्पनीको कुल आम्दानीमध्ये करिब ८७ प्रतिशत हिस्सा एमजी-४ र एमजी एस-५ दुई मोडलबाट मात्रै आएको जनाएको छ । यसरी थोरै मोडलमा अत्यधिक निर्भर रहँदा ती सवारीको मागमा आउने कमी वा बजारको परिवर्तनले कम्पनीको कारोबारमा प्रत्यक्ष असर पार्न सक्ने जनाएको छ ।
त्यसैगरी, नेपालमा विद्युतीय सवारीसाधन बजारमा नयाँ-नयाँ ब्रान्डको प्रवेश, स्थापित कम्पनीहरूको विस्तार तथा प्रतिस्पर्धी मोडल सार्वजनिक भइरहेका कारण बजार प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । यस्तो अवस्थामा प्रतिस्पर्धी कम्पनीहरूले आकर्षक मूल्य र नयाँ सुविधा भएका सवारी बजारमा ल्याउँदा प्यारामाउन्ट मोटर्सको आम्दानी तथा बजार हिस्सा प्रभावित हुन सक्नेछ ।