नेपाल माइक्रो इन्स्योरेन्समा अध्यक्ष, सञ्चालक तथा कायममुकायम सीईओ नियुक्त

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएमआईसी) ले नयाँ अध्यक्ष, सञ्चालकहरू तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको अध्यक्षमा नारदकुमार लुइँटेल नियुक्त भएका छन्  । त्यसैगरी, सञ्चालकहरूमा दामोदर सत्याल, चार्टर्ड एकाउन्टेन्ट (सीए) अशोक प्रसाद साह तथा दीपक कुमार मिश्र नियुक्त भएका छन् ।

यसैगरी, कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अनिल गिरीलाई कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (एक्टिङ सीईओ) को जिम्मेवारी प्रदान गरिएको छ ।

नेपालका पाँचवटै माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरू निलम्बनमा परेपछि सिर्जित विशेष परिस्थितिमा नेपाल बीमा प्राधिकरणको निर्देशन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै अत्यन्त छोटो अवधिमै रिक्त रहेका सम्पूर्ण नेतृत्वदायी पदहरूमा नियुक्ति सम्पन्न गर्ने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी पहिलो माइक्रो इन्स्योरेन्स कम्पनी बनेको छ ।

नयाँ नेतृत्वको आगमनसँगै कम्पनीले सेवा विस्तार, सुशासन, डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा संस्थागत विकासलाई थप प्रभावकारी बनाउँदै बीमित, सेयरधनी, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाको विश्वासलाई अझ सुदृढ बनाउने विश्वास लिएको छ ।

कम्पनीले नवनियुक्त अध्यक्ष, सञ्चालकहरू तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृतलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनीहरूको नेतृत्वमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।

Share News