काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै प्रतियोगिताको माहोल उत्सवमय बनाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष अभियान सुरु गरेको छ ।
सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीसँग प्रायोजन साझेदारी गरेको एक्सट्रीमले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानबाहिर ती टोलीलाई समर्पित ७ वटा गेट तयार गरेको हो ।
एनपीएलका खेल हुने मुख्य मैदानबाहिरै समर्थकलाई आफ्नो मनपर्ने टोलीको उत्साहसँग जोड्ने उद्देश्यले गेटहरू तयार गरिएको कम्पनीले जनाएको छ । गेटहरूमा सम्बन्धित टोलीको पहिचानसँगै एक्सट्रीमको ब्रान्ड प्रस्तुत गरिएको छ ।
कम्पनीका अनुसार एनपीएल सुरु हुनुअघि नै यस किसिमको अभियान सुरु गर्ने पहिलो ब्रान्ड एक्सट्रीम हो ।
एक्सट्रीमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रायोजन साझेदारी गरेको छ ।
यससँगै कम्पनीले पोल ब्यानर, होर्डिङ, गेट ब्रान्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत एनपीएलको उत्साहलाई थप व्यापक बनाउँदै लगेको जनाएको छ ।
एनपीएल सिजन ३ कार्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुने तालिका छ ।