काठमाडौं । एनआईसी एशिया बैंकले दार्चुलाको एक विद्यालय र काठमाडौंस्थित मेरुदण्ड पक्षघातसम्बन्धी सेवामूलक संस्थालाई सहयोग उपलब्ध गराएको छ ।
बैंकले सुदूरपश्चिमको दार्चुलास्थित महाकाली नगरपालिका–३ मा रहेको श्री हुनैनाथ माध्यमिक विद्यालय बाँजलाई एक थान ल्यापटप प्रदान गरेको छ । प्रविधिको पहुँच विस्तार गर्दै विद्यार्थीहरूको पठनपाठनलाई थप सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जनाएको छ ।
हाल १३५ भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा असार ३ गते आयोजित कार्यक्रममा बैंकका दार्चुला शाखा प्रमुख अरुण सिंह धामीले विद्यालयका प्रधानाध्यापक वीर सिंह महरलाई ल्यापटप हस्तान्तरण गरेका थिए ।
यस्तै, मेरुदण्ड (स्पाइनल कर्ड) चोटपटक भएका व्यक्तिहरूको पुनर्स्थापना, सहयोग र दीर्घकालीन हेरचाहमा सक्रिय मेरुदण्डिय पक्षघात समूह नेपाललाई बैंकले आरओ वाटर प्युरिफायर उपलब्ध गराएको छ । असार ५ गते आयोजित कार्यक्रममा बैंकका काठमाडौं नर्थ सर्कल हेड सुदिनकुमार लामा तथा सीएसआर एवं वित्तीय समावेशीकरण विभागका इन्चार्ज ठाकुर श्रेष्ठले संस्थाका उपाध्यक्ष कृष्णप्रसाद भण्डारी र महासचिव केशव थापालाई उक्त उपकरण हस्तान्तरण गरेका थिए ।
बैंकका अनुसार विद्यालयलाई उपलब्ध गराइएको ल्यापटपले विद्यार्थीहरूको अध्ययन–अध्यापनमा प्रविधिको प्रयोग बढाउन सहयोग पुर्याउनेछ । साथै मेरुदण्डिय पक्षघात समूह नेपाललाई प्रदान गरिएको वाटर प्युरिफायरले संस्थासँग आबद्ध लाभग्राही तथा आवासीय व्यक्तिहरूको स्वच्छ खानेपानीमा पहुँच सुनिश्चित गर्दै स्वास्थ्य र सरसफाइमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।